
काठमाडौं । इजरायली सेनाले गाजामा गरेको आक्रमणमा शनिबार मात्रै कम्तीमा ११० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। अलजजिराका अनुसार मारिनेहरूमा दक्षिणी राफाहस्थित अमेरिकी सहयोगमा सञ्चालनमा रहेको ‘गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)’ को राहत केन्द्रमा खाना लिन लाइनमा उभिएका ३४ जना सर्वसाधारण पनि थिए।
यो भीषण नरसंहार कतारमा हमास र इजरायलबीच जारी युद्धविराम वार्ता अवरुद्ध भएको समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना अघि सारेपछि अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा व्यक्त गरिरहेका छन्।
बीबीसीले भने राहत वितरण केन्द्र नजिकै इजरायली हमलामा २४ जना नागरिकको मृत्यु भएको जनाएको छ। राफाहस्थित नासेर अस्पतालका अनुसार राहत लिन आएका सर्वसाधारणमाथि इजरायली सेनाले बिना चेतावनी गोली चलाएको थियो।
“झोला होइन, शव ढाक्ने कपडा बन्यो”
स्थानीय प्रत्यक्षदर्शी र बाँचेकाहरूले घटनालाई ‘राहत होइन, मृत्युको एम्बुस’ भनेका छन्। अलजजिरासँग कुरा गर्दै सामिर शातले भने, “हामीले खाना ल्याउन ल्याएका झोलाहरू नै साथीहरूको शव छोप्न प्रयोग गर्यौं।”
यस्तै, आफ्ना छोराछोरी गुमाएका एक बाबुले भने, “हामीलाई झुक्याएर गोली हानियो। राहत लिन गएको बेला हामी सिकारी अगाडि परेका हाँसझैं बनाइएका थियौं।”
अलजजिराका संवाददाता तारिक अबु अज्जुमका अनुसार राफाहमा सञ्चालनमा रहेको एक मात्र राहत केन्द्रमा हजारौं भोकाएका नागरिक राहत लिन जान बाध्य छन्, तर सेनाले त्यही केन्द्रनजिकै हमला गरी सर्वसाधारणलाई निशाना बनायो।
“अस्पतालमा औषधिको चरम अभाव”
गाजाको अल-अक्सा अस्पतालका प्रवक्ता खालिल अल-डेग्रानका अनुसार मानवीय सहायता केन्द्र आसपास मात्रै ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। “धेरैजसो घाइतेका टाउको र खुट्टामा गोली लागेको छ। औषधि नभएकाले उपचार सम्भव छैन,” उनले भने।
“अन्यत्र पनि आक्रमण, दर्जनौंको मृत्यु”
शनिबार गाजाको अन्य क्षेत्रमा भएका आक्रमणमा पनि दर्जनौं नागरिक मारिएका छन्। टुफ्फाह क्षेत्रमा बम आक्रमणमा १४ जनाको मृत्यु भएको छ भने जबालियाका दुई भवनमा गरिएको आक्रमणमा १५ जनाको मृत्यु भएको छ। शाती शरणार्थी शिविरमा ७ जनाको ज्यान गएको छ भने उत्तरी गाजाको बेइट हानुनमा ५० भन्दा बढी बम खसालिएको अलजजिराले जनाएको छ।
पछिल्ला ४८ घण्टामा इजरायली सेनाले गाजामा २५० भन्दा बढी पटक आक्रमण गरेको र खाद्यान्न तथा औषधि प्रवाहमा समेत अवरोध गरेको छ।
गाजाको सरकारी सञ्चार कार्यालयले दिएको जानकारी अनुसार हालसम्म कुपोषणका कारण ६७ बालबालिकाको मृत्यु भइसकेको छ। पाँच वर्षमुनिका ६ लाख ५० हजार बालबालिका भोकमरीको उच्च जोखिममा रहेका छन्।
“युद्धविराम वार्ता अवरुद्ध”
इजरायल र हमासबीच कतरमा भइरहेको अप्रत्यक्ष वार्ता समेत अवरुद्ध भएको छ। रोयटर्स र एएफपीले जनाए अनुसार गाजाबाट इजरायली फौज फिर्ता गर्ने प्रस्तावबारे विवाद चुलिएको हो। हमासले इजरायली प्रस्ताव अस्वीकार गर्दै अघिल्लो युद्धविरामको सीमामा फर्कन माग गरिरहेको छ। इजरायल भने राफाहसहित गाजाको करिब ४० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राख्ने योजनामा अडिग देखिएको छ।
मध्यपूर्व विश्लेषक ओमार रहमानले गाजामा जारी इजरायली कारबाही केवल युद्धबन्दी फिर्ती नभई समाजको भौतिक विनाश र पूर्ण रूपमा जनसंख्या विस्थापन गर्नेतर्फ लक्षित रहेको बताएका छन्। अलजजिरासँग कुरा गर्दै उनले अमेरिकी-इजरायली योजनाहरूले परम्परागत राहत प्रणाली विस्थापित गर्दै बचेका जनतालाई सानो क्षेत्रमा सीमित गर्न खोजिएको आरोप पनि लगाएका छन्।
यद्यपि वार्ता अवरुद्ध भए पनि कतारमा दुवै पक्षबीच अप्रत्यक्ष संवाद जारी रहने आशा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
