News Portal

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र नेपालका प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै

जनगर्जन संवाददाता२०८२ आषाढ १३
२५ पटक

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार (जुन ३०) स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने भएका छन्। स्पेनमा सन् २०१८ मा नेपाली दूतावास स्थापना भएपछि प्रधानमन्त्रीस्तरीय भेटवार्ता हुन लागेको यो पहिलो अवसर हो।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिन शनिबार स्पेनको सेभिया पुग्ने कार्यक्रम छ। सम्मेलनका क्रममा सोमबार सेभियामै दुई प्रधानमन्त्रीबीच आधा घण्टा लामो भेटवार्ता तय भएको छ।

स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार भेटवार्तामा पर्यटन, व्यापार र आर्थिक कूटनीतिको क्षेत्रमा आपसी सहयोगका विषयमा केन्द्रित छलफल हुनेछ। “यस भेटबाट दुबै देश लाभान्वित हुने अपेक्षा गरिएको छ,” राजदूत नेपालले बताए।

विगतका उच्चस्तरीय भ्रमण

नेपाल–स्पेन सम्बन्धमा विगतमा पनि केही ऐतिहासिक क्षणहरू रहिआएका छन्। सन् १९८३ मा स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्पेनको राजकीय भ्रमण गरेका थिए। सो अवसरमा सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

त्यसको चार वर्षपछि, सन् १९८७ मा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले नेपाल भ्रमण गरेका थिए। यस्तै, सन् १९८४ मा राजा वीरेन्द्रले स्पेनी जनता र सरकारलाई ‘हिमालयन रेड पाण्डा’को एक जोडी उपहार दिएका थिए, जसले दुई देशबीचको मित्रता झल्काउँथ्यो।

नेपाल–स्पेनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६८ को मे १३ मा स्थापना भएको हो। नेपालको तर्फबाट सन् २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय लिइएपछि सन् २०१८ को जनवरी १० मा भरतबहादुर रायमाझीलाई पहिलो आवासीय राजदूतका रूपमा स्पेन पठाइएको थियो।

प्रतिकृया दिनुहोस्