
काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले निर्धारित समयसीमाभित्र नीति, कार्यक्रम र बजेट पेश गर्न नसकेकोमा सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।
आइतबार सम्पन्न १७औं नगरसभामा बोल्दै उपप्रमुख डङ्गोलले महानगरको बजेट समयमा पेश गर्न नसकिएको स्वीकार गर्दै भनिन्, “समयमै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्यज्यूहरुको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं।”
उनले विगतका दिनहरूमा केही तीता अनुभवहरू भए पनि अहिले सबै पक्ष एकमतमा आएको स्पष्ट पारिन्। “हाल महानगर एक ढिक्का बनेको छ,” उनले भनिन्।
डङ्गोलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन्। चालू आर्थिक वर्ष २०८१/०८२ मा २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट थियो।
उनका अनुसार आगामी वर्षको लागि संचित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ रहनेछ। योमध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।
