
काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओली संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ (एफएफडी–४) मा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्पेन प्रस्थान गरेका छन्।
स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव एकनारायण अर्याललगायत उच्च सरकारी पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूले बिदाइ गरे।
सम्मेलनमा सरकार प्रमुख, विश्व तथा क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक क्षेत्रका प्रतिनिधि, व्यवसायी, नागरिक समाज र राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको विकासका चुनौतीबारे धारणा राख्नेछ। दिगो विकासका लागि आवश्यक तत्काल तथा दीर्घकालीन लगानीका विषयमा छलफल केन्द्रित हुनेछ।
स्पेन बसाइका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका समकक्षी तथा राष्ट्रप्रमुखहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ। उनले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्च अधिकारीहरू सहभागी छन्।
प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।