
काठमाडौं । देशभरको मौसमी अवस्थाका कारण आज (आइतबार) पनि साना तथा मध्यम आकारका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना रहेका नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट र दैलेख जिल्लाभित्र बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। यी क्षेत्रमा पानीको बहाव तीव्र गतिमा बढ्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक भएको महाशाखाले जनाएको छ।
त्यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत र पाल्पा जिल्लाभित्र बहने साना नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यी क्षेत्रमा बाढीको जोखिम मध्यमस्तरमा रहेको बताइएको छ।
हालको मापन अनुसार कोसी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई जस्ता प्रमुख नदीहरूमा भने जलसतह सतर्कता तहभन्दा तल रहेको छ। तर, निरन्तरको वर्षाले जलसतह बढ्न सक्ने भएकाले स्थानीय तह, नागरिक र सरोकारवाला निकायहरूलाई सचेत रहन अनुरोध गरिएको छ।
महाशाखाले बाढीको जोखिमबारे थप जानकारीका लागि आफ्नो आधिकारिक सूचना र मोबाइल एपमार्फत नियमित अपडेट लिन आग्रह गरेको छ।