
काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यस्थित म्यानेसस पार्कमा एकै परिवारका चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतकमध्ये दुई बालबालिका, एक महिला र एक पुरुष रहेका छन्।
म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूको सुरक्षाको अवस्था जाँच गरिदिन अनुरोध गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घरको तल्लो तलामा प्रवेश गर्दा चारै जनाको शव गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक रहेका छन्। घटनास्थलबाट एकथान बन्दुक बरामद गरिएको छ। तर, गोली प्रहार गर्ने व्यक्तिको पहिचान भने अझै सार्वजनिक गरिएको छैन।
प्रहरीले शवहरू परीक्षणका लागि म्यानेससस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।