
काठमाडौँ । अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको अस्थायी बसोवास अनुमति (Temporary Protected Status – TPS) सुविधा खारेज गरेको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालय (Department of Homeland Security – DHS) ले शुक्रबार जारी गरेको सूचनामा नेपालको अवस्थाको समीक्षापछि नेपाली नागरिकहरू अब टीपीएसका लागि आवश्यक वैधानिक मापदण्ड नपुगेको निष्कर्ष निकालेको जनाएको छ।
गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको वर्तमान अवस्था टीपीएसको लागि उपयुक्त नठहरिएको भन्दै अब यो सुविधा नदिइने स्पष्ट गरेकी छन्। टीपीएस कार्यक्रम सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य गम्भीर मानवीय संकटका कारण प्रभावित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न दिने सुविधा हो। यसअन्तर्गत नेपालसहित एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजारभन्दा बढी आप्रवासी अमेरिकामा रहेका छन्।
नेपालका लागि टीपीएस हैसियत २०२५ अगस्ट ५ का दिन राति ११:५९ बजे समाप्त हुने जानकारी दिइएको छ। त्यसपछि अन्य वैधानिक हैसियत नभएका नेपाली नागरिकलाई स्वदेश फर्किन गृह सुरक्षा मन्त्रालयले अनुरोध गरेको छ।
सन् २०२१ को अन्त्यमा १४ हजार ५५६ नेपाली टीपीएसअन्तर्गत अमेरिका बसिरहेका थिए। पछिल्लो तथ्यांकअनुसार हाल ७ हजार ८७५ नेपाली यो कार्यक्रमअन्तर्गत अमेरिका रहेका छन्। नेपाललाई टीपीएस सुविधा सन् २०१५ मा ओबामा प्रशासनले दिएको थियो।
टीपीएस अमेरिकी आप्रवासन प्रणालीअन्तर्गत विशेष परिस्थितिमा प्रदान गरिने सुविधा हो, जसले लाभार्थीलाई निष्कासनबाट जोगाउँछ र अस्थायी रूपमा काम गर्न अनुमति दिन्छ। तर यो स्थायी बसोबासको अनुमति भने होइन। निर्धारित समयपछि पात्रता समाप्त भएमा सम्बन्धित व्यक्ति अमेरिकामा बस्न योग्य ठहरिँदैनन् र स्वदेश फर्किनुपर्ने हुन्छ।