News Portal

सरकारी अस्पतालको लापरबाही: “भेरीमा गद्दा छ, तन्ना छैन”

जनगर्जन संवाददाता२०८२ आषाढ २५
१०२ पटक

नेपालगन्ज । प्रदेश ५ को प्रमुख स्वास्थ्य संस्था भेरी अस्पतालले बिरामी माथि चरम लापरबाही गरेको छ । नेपालगन्जस्थित यस सरकारी अस्पतालमा एक बिरामीलाई तन्ना वा कुनै संक्रमणमुक्त ओछ्यानबिना सिधै गद्दामा सुताइएको घटनाले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमै गम्भीर प्रश्न खडा गरेको छ।

गत आइतबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गराएका ५९ वर्षीय खड्के साउदलाई मंगलबार भेरी अस्पतालको ENT वार्डको बेड नम्बर ३ मा सारिएको थियो। तर अस्पतालले उनलाई कुनै तन्ना वा ओछ्यान नदिई सिधै प्रयोगमा आइसकेको गद्दामा राखेको देखिएको छ। सार्वजनिक भएको तस्वीरले अस्पतालको बेवास्ता र बिरामीप्रति देखाइएको असंवेदनशीलता उजागर गरेको छ।

चिकित्सकहरूका अनुसार शल्यक्रिया गरेपछि बिरामीको शरीर संक्रमणको उच्च जोखिममा हुन्छ। यस्ता अवस्थामा विशेष सरसफाइ र संक्रमण नियन्त्रणको ध्यान दिनुपर्नेमा अस्पतालले आधारभूत सुरक्षासम्म नदिएको देखिएको छ। तन्ना बिना सुताउँदा छालामा संक्रमण, घाउ फाट्ने, वा अन्य थप जटिलता उत्पन्न हुने सम्भावना अत्यधिक हुन्छ।

झनै आश्चर्यजनक कुरा त के भने बिरामी पक्षले तन्ना माग्दा अस्पतालका कर्मचारीहरूले दिएको जवाफ थियो:
“बिरामीले माग गरेपछि मात्रै तन्ना दिन्छौं। बच्चा रोएपछि मात्रै दूध पाउँछ भने जस्तै हो।”
यस प्रकारको अभिव्यक्तिले सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरूको मानसिकता, सेवा भाव र उत्तरदायित्वबोधको स्तर स्पष्ट देखाउँछ।

प्रदेशस्तरीय अस्पतालमा बिरामीलाई तन्ना उपलब्ध नगराउनु केवल प्राविधिक त्रुटि होइन, यो सेवा प्रवाहप्रतिको गम्भीर उपेक्षा हो। सरकारी स्वास्थ्य सेवा प्रणालीमाथिको जनविश्वास यस्ता घटनाले निरन्तर कमजोर पार्दै गएको छ।

भेरी अस्पतालमा तन्ना बिना गद्दा मात्रमा बिरामी राखिएको यो घटना सामान्य लापरवाही होइन, यो सम्पूर्ण सरकारी स्वास्थ्य सेवा प्रणालीको गहिरो संकटको संकेत हो। सरकार, स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर छानबिन तथा सुधारको तत्काल पहल नगरे जनताको स्वास्थ्य सुरक्षा दिनानुदिन जोखिममा पर्न सक्छ।

प्रतिकृया दिनुहोस्