News Portal

रास्वपाको अभिलेख झिकाउन आयोगलाई निर्देशन

जनगर्जन संवाददाता२०८२ आषाढ २९
२१ पटक

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निर्वाचन आयोगमा पेश गरिएका अभिलेख तथा कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीश द्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार आयोगलाई ‘मिसिल कागज झिकाउने’ आदेश दिएको हो।

अदालतको आदेश अनुसार अब निर्वाचन आयोगले रास्वपा दर्ता हुँदा पेश गरिएका मूल कागजात, सोको आधारमा गरिएको दल दर्तासम्बन्धी निर्णय, डा. ढकालमाथि गरिएको अनुशासनात्मक कारबाहीका कागजात, रास्वपाले आयोगमा पेश गरेका अद्यावधिक विवरण तथा पत्राचार सबै सुपुर्द गर्नुपर्नेछ।

डा. ढकालले आफू रास्वपाको वैध महामन्त्री भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफूलाई महामन्त्रीबाट हटाउने निर्णय गैरकानुनी भएको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन्।

सर्वोच्चको यस प्रारम्भिक आदेशले ढकालको दाबीमा थप कानुनी बहसको बाटो खुला गरेको छ। अब आयोगले अदालतमा सम्बन्धित सम्पूर्ण कागजात पेस गरेपछि मुद्दामा विस्तृत सुनुवाइ हुनेछ।

प्रतिकृया दिनुहोस्