
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा सर्पले टोकेर एक महिलाको ज्यान गएको छ । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी २८ वर्षीया कमला दमाईको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, शुक्रबार राति साढे १२ बजेतिर दमाईलाई घरभित्र सुतिरहेको अवस्थामा बाँया गालामा सर्पले टोकेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
तर, उपचारकै क्रममा शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यसैबीच, सामाजिक सञ्जालमा कमला दमाई छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेको दाबी गरिए पनि प्रहरीले यस्ता विवरणबारे आधिकारिक पुष्टि गर्न नसकेको जनाएको छ ।
‘हामीले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार उनी घरभित्रै सुतिरहेकी थिइन् । छाउगोठको कुरा सामाजिक सञ्जालमा आएको भए पनि यसबारेमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन,’ डीएसपी बोहराले भने, ‘यस विषयमा थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।’
स्थानीयस्तरमा अझै पनि छाउपडी प्रथा अन्त्य हुन नसकेको भन्दै सामाजिक अभियन्ताहरूले घटनाबारे गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।
