News Portal

पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातबाट निधन

जनगर्जन संवाददाता२०८२ आषाढ २९
३२ पटक

काठमाडौ । पूर्व निर्वाचन आयुक्त तथा सञ्चारकर्मी इला शर्माको हृदयाघातका कारण शनिबार साँझ निधन भएको छ। उनी ५९ वर्षकी थिइन्।

शनिबार साँझ स्वास्थ्यमा अचानक समस्या देखिएपछि शर्मालाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। उपचारका क्रममा अस्पतालमै उनको निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ।

इला शर्मा २०७० सालमा संवैधानिक अंग निर्वाचन आयोगको आयुक्तमा नियुक्त भएकी थिइन्। उनले ६ वर्षसम्म आयोगमा रही निर्वाचन प्रणाली सुदृढीकरण, पारदर्शिता तथा लैंगिक समावेशीकरणका पक्षमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

निर्वाचन आयोगमा रहँदा उनले मतदाता शिक्षा, आचारसंहिता कार्यान्वयन तथा कानुनी मस्यौदाहरूमा उल्लेखनीय योगदान पुर्‍याएको भनिन्छ। शर्माले विशेषतः समावेशी निर्वाचन प्रणालीको पक्षमा आवाज उठाउँदै आएकी थिइन्।

निर्वाचन आयोगमा नियुक्त हुनु अघि उनी पत्रकारिता क्षेत्रमा सक्रिय थिइन्। उनले The Rising Nepal मा लामो समयसम्म लेखन र सम्पादनको जिम्मेवारी सम्हालेकी थिइन्। साथै, उनी विभिन्न नागरिक समाजका गतिविधिमा पनि संलग्न रहँदै आएकी थिइन्।

स्वर्गीय शर्माको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो नर्भिक अस्पतालबाट कुपण्डोलस्थित निवास पुर्‍याइने छ। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि आजै गर्ने तयारी गरिएको छ।

उनको निधनले लोकतान्त्रिक अभ्यास, निर्वाचन प्रणाली र सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै विभिन्न राजनीतिक दल, आयोगका पूर्व पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिले शोक व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्