News Portal

  • सकियो भन्छन क्लोरिन पाउडर ,उपभोक्ताको स्वास्थ्य माथी खेलवाड

    क्लोरिन पाउण्डर सकिएको भन्दै खोलाको पानी सिधै धारामा, खानेपानी मा यस्तो लापरबाही

    दिनेश विकल्प२०८१ साउन ३
    १३९ पटक

    बागलुङ । सदरमुकाम स्थित बागलुङ नगर खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले खोलाको पानी फिल्टर नै नगरी सिधै उपभोक्ताको धारामा पठाएको अनुसन्धानमा भेटिएको छ । मानव स्वास्थ्यमाथि सिधै खेलवाडहुने गरी संस्थाले बिना जानकारी खोलाको पानी सिधै धारामा पठाएको हो ।

    नगर खानेपानी संस्थाले रिजर्भवायर ट्यांकीमा बुधबार साँझदेखि किटाणु मार्ने औषधि (क्लोरिन पाउण्डर) प्रयोग नगरेको पाइएको हो । संस्थामा भएको पाउण्डर सकिएको र खरिद नगरेको कारण बुधबार बेलुका ६ बजेदेखि पाण्डर नहालिएको संस्थाका एक कर्मचारीले बताए । नगर खानेपानी संस्थामा क्लोरिन पाउण्डर प्रयोग गर्ने जिम्मा पाएका कर्मचारी किरणबहादुर कुमालले बुधबार बेलुकादेखि खानेपानीमा पाउण्डर प्रयोग नगरी वितरण गरिएको बताएका छन ।

    कुमालले संस्थामा भएको पाउण्डर सकिएको संस्थामा जानकारी गराएपनि उपलब्ध नगराएको बताए । ‘बुधबार बेलुका ६ बजेदेखि क्लोरिन पाउण्डर सकिएको हो,’ कर्मचारी कुमालले भने,‘पाउण्डर सकिन लागेको बेला र सकिएपछि पनि सुपरभाइजर, कार्यालय प्रमुख र कोषाध्यक्षलाई खबर गरेको थिएँ । कोषाध्यक्षले भए प्रयोग गर्न र नभए नगर्न भनेर सिधै भन्नुभयो ।’ पानीलाई शुद्ध बनाउनको लागि नगर खानेपानी संस्थाले दैनिक तीन पटक क्लोरिङ पाउण्डर प्रयोग गर्दै आएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलाशले चार बर्ष पहिले शुद्ध पानी वितरणका लागि परमादेश दिएको थियो । त्यस पश्चात नियमित प्रयोग हुँदै आएको पाउडर समितिमा रहेको बिबादका कारण पछिल्लो समय खरिदमै समस्या आएको एक कर्मचारी बताएका छन् ।

    क्लोरिङ पाउण्डर सकिएपछि नगर खानेपानीको ‘अटोमेटिक डोजिङ पम्प’ बन्द गरिएको छ । बागलुङ नगर खानेपानीले रेशको मुहान र कालिगण्डकीबाट बागलुङ नगरपालिका–३ रात्माटा स्थित रिजर्भवायर ट्यांकीमा ल्याएको पानीलाई शुद्ध गराउनको लागि क्लोरिङ गर्दै आएको छ । पानी फिल्टर भएपनि किटाणु मारेर शुद्ध बनाउनको लागि क्लोरिङ प्रयोग गरिदै आएको कर्मचारीहरु बताउँछन् ।

    कुमालले संस्थाले क्लोरिङ पाउण्डर ल्याइदिएमा आफुले प्रयोग गर्ने बताउँदै आएका छन । ‘कार्यालय र समितिले पाउण्डर ल्याइदिए मैले २४ सै घण्टा प्रयोग गर्छु,उहाँहरुले ल्याउन सक्नु हुँदैन मैले के गर्ने ?’ पानीमा क्लोरिङ पाउण्डर प्रयोग नगरिएपनि पानी वितरण गरिरहेका छन ।

    संस्थाका सचिव जिवन आचार्यले क्लोरिङ पाउण्डर आउन दुई, तिन दिन लाग्ने बताए । उनले पाउण्डर सकिनु एक, दुई दिन अगाडी मात्र थाहा भएकोले काठमाडौंबाट मगाइएको बताए । ‘हामीलाई एक, दुई दिन अगाडी मात्र क्लोरिङ पाउण्डर सकिन लागेको थाहा भएको हो,’ सचिव आचार्यले भने,‘पहिले नै थाहा भएको भए समयमै खरिद गर्न सकिन्थ्यो । अब दुई, तीन दिनमा मात्र आउने र त्यसपछि पाउण्डर राख्छौं ।’ उनले क्लोरिङ पाउण्डर पोखरामा नपाइने र काठमाडौंमा मात्र पाइनेहुँदा आउन समय लाग्ने बताए । क्लोरिङ पाउण्डर नआउँदासम्म बजारबासीले पानी उमालेर प्रयोग गर्नुपर्ने सचिव आचार्यको भनाई छ ।

    प्रतिकृया दिनुहोस्