News Portal

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिणी क्षेत्रसँग सम्पर्क विच्छेद

"हरेक वर्ष पानी पर्नासाथ हामी यत्रतत्र अलपत्र पर्छौँ। न बिजुली आउँछ, न त सवारी साधन नै चल्न सक्छन्।”

दिनेश विकल्प२०८२ आषाढ ६
११ पटक

बागलुङ । बागलुङ नगरपालिका–१० दव्ल्याङस्थित कालिगण्डकी करिडोरमा खसेको ठूलो पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। बिहीबार रातिदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण शुक्रबार बिहान पहिरो खसेर सडक बगाउँदा सवारी आवागमन ठप्प भएको हो।

स्थानीय प्रशासनका अनुसार करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकामबाट जिल्लाको दक्षिणी क्षेत्र—ताराखोला, तमानखोला, बडीगाड तथा गुल्मी, पाल्पातर्फ जाने सबै सवारी साधनहरू प्रभावित भएका छन्। बागलुङ बजारबाट छुटेका तथा गन्तव्यतर्फ जाँदै गरेका लामो दूरीका सवारी साधनहरू दव्ल्याङ आसपासमै रोकिएका छन्।

गत चार वर्षदेखि लगातार वर्षायाममा सो स्थानमा पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ। अत्यधिक ढलान, कमजोर भूगर्भीय संरचना, र निर्माणको क्रममा पानी निकासको उचित व्यवस्था नहुँदा सानो वर्षाले पनि ठुलो क्षति पुर्‍याउने गरेको छ।

स्थानीय बासिन्दा जनकबहादुर केसीका अनुसार, “हरेक वर्ष पानी पर्नासाथ हामी यत्रतत्र अलपत्र पर्छौँ। न बिजुली आउँछ, न त सवारी साधन नै चल्न सक्छन्।” स्थानीय बासिन्दाले विगतदेखि नै दीर्घकालीन समाधानको माग गर्दै आएका छन्।

हाल बागलुङ–बलेवा विमानस्थल खण्डमा कालोपत्रे कार्य चलिरहेको छ। निर्माणको जिम्मा लिएको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने काम सुरु गरिसकेको भए पनि ठूलो मात्रामा सडक बगिएकाले पूर्ण मर्मतका लागि समय लाग्ने बताइएको छ।

निर्माण कम्पनीका प्रतिनिधि रामकृष्ण बिडारीका अनुसार, “पहिरोको मात्रा धेरै छ। सडकको सतह नै बगिसकेको छ, केही संरचना समेत क्षतिग्रस्त भएका छन्। यस्ता अवस्थामा यातायात सुचारु हुन कम्तीमा २–३ दिन लाग्न सक्छ

स्थानीय तह तथा सरोकारवाला निकायसँग प्रभावित क्षेत्रका बासिन्दाले तत्काल वैकल्पिक मार्ग व्यवस्थापन गर्न र आगामी दिनमा पहिरोको दीर्घकालीन समाधानका लागि स्थायी पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय बागलुङले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र वैकल्पिक सूचना पर्खन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्