News Portal

तमानखोला गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ३३ करोड ४१ लाख बजेट पारित, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

जनगर्जन संवाददाता२०८२ आषाढ ११
३२ पटक

बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ करोड ४१ लाख ६ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले सातौं अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले कुल बजेटमध्ये चालु खर्चका लागि २५ करोड ४६ लाख ८९ हजार र पुँजीगत खर्चका लागि ७ करोड ९४ लाख १७ हजार विनियोजन गरेको छ । बजेटअन्तर्गत शिक्षातर्फ २ करोड ५२ लाख ५० हजार, स्वास्थ्यतर्फ १ करोड ६४ लाख ५५ हजार र पूर्वाधार विकासका लागि ६ करोड १५ लाख ८४ हजार बजेट छुट्याइएको छ ।

आय स्रोतका रूपमा संघीय सरकार सशर्त अनुदानअन्तर्गत ११ करोड ७५ लाख, विशेष अनुदानअन्तर्गत ७० लाख ५० हजार, समपूरक अनुदानअन्तर्गत ८० लाख, तथा प्रदेश सरकार समपूरक अनुदानअन्तर्गत ६० लाख र विशेष अनुदानअन्तर्गत ३९ लाख विनियोजन भएको उपाध्यक्ष छन्त्यालले बताइन् ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुसार नीति तथा कार्यक्रममार्फत प्रविधिमैत्री सिकाइ, मिसन रोजगारी, उद्यमशील बन्न चाहनेलाई सहुलियत दरमा ऋण लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । साथै सिपमूलक तथा प्रविधिमैत्री शिक्षा विकासका लागि ठोस नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरिएको उनले बताए ।

यसरी तमानखोला गाउँपालिकाले आफ्नो बजेटमार्फत सामाजिक विकास, रोजगारी सृजना र पूर्वाधार सुधार गरी जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस्