News Portal

बडिगाड गाउँपालिकाको ७१ करोड ९५ लाख बजेट पारित, पुँजीगत खर्च ४ करोडले घट्यो

जनगर्जन संवाददाता२०८२ आषाढ ११
२६ पटक

खर्वाङ, बागलुङ । बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ७१ करोड ९५ लाख बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको बजेट अघिल्लो वर्षको तुलनामा १ करोडले कम हो, भने पुँजीगत तर्फ गतवर्षको तुलनामा ४ करोडले कटौती गरिएको छ ।

गाउँपालिकाको आयस्रोतअनुसार आन्तरिक राजस्वबाट १ करोड ६० लाख १५ हजार, नेपाल सरकारको राजस्व बाँडफाँडबाट १० करोड ५४ लाख १४ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ११ करोड २९ लाख ६ हजार, चालू वर्षको नगद मौज्दातबाट ७९ लाख ५० हजार लगायत अन्य अनुदान गरी कुल आय ७१ करोड ९५ लाख पुगेको हो ।

यस्तै, चालु खर्चअन्तर्गत ५६ करोड ३८ लाख ५० हजार तथा पुँजीगत खर्चअन्तर्गत १५ करोड ५६ लाख ५० हजार विनियोजन गरिएको छ । कृषि तथा पशुपन्छी विकासमा २ करोड ४ लाख २० हजार, सामाजिक विकास तथा मानव पुँजी विकासका लागि ४३ करोड ४७ लाख ३० हजार र पूर्वाधार तथा भौतिक निर्माणका लागि १५ करोड २५ लाख ५० हजार बजेट छुट्याइएको छ ।

सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्दै पालिकाले खाल चिच्चौर–छिसफाँट सडक, भानुमावि ग्वालीचौर, तथा दगा–जिमी–राक्से–खर्वाङ सडकका लागि प्रदेश र संघ सरकारसँग साझेदारी गरी विशेष बजेट विनियोजन गरेको छ ।

गतवर्षको तुलनामा पुँजीगत बजेट घट्नुमा अघिल्लो वर्षको मौज्जाद कम हुनु र प्रशासनिक खर्च बढ्नुलाई मुख्य कारण मानिएको छ । त्यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ५४ लाख तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि १ करोड ३१ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्