News Portal

आज विश्व जनसङ्ख्या दिवस, ‘युवालाई सशक्त बनाऔं’ नारासहित विभिन्न कार्यक्रम हुँदै

जनगर्जन संवाददाता२०८२ आषाढ २७
९ पटक

काठमाडौ । आज साउन ११ गते (जुलाई ११) विश्वभर विश्व जनसङ्ख्या दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ देखि मनाउन थालिएको यो दिवसले जनसङ्ख्याका विश्वव्यापी चुनौती र अवसरहरूबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार, विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लागे पनि पछिल्लो दुई सय वर्षभित्र जनसङ्ख्या सात गुणाले वृद्धि भएको छ। सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सङ्ख्या सात अर्ब ९० करोड पुगेको छ।

अनुमान अनुसार, सन् २०३० मा विश्व जनसङ्ख्या आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्नेछ। जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइ जस्ता कारकले गहिरो प्रभाव पारिरहेको अनुसन्धानहरूले देखाएका छन्।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (UNFPA) ले चौध देशका १४ हजारभन्दा बढी व्यक्तीसँग गरेको सर्वेक्षण अनुसार, प्रजनन उमेरमा रहेका धेरैजसो वयस्कले बालबालिका जन्माउन नचाहनुको कारणमा आर्थिक अभाव, रोजगारीको असुरक्षा, जलवायु परिवर्तन, युद्ध, महामारी र हेरचाहको चुनौतीलाई मुख्य मानेका छन्।

यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुटरेसले सन्देश दिँदै युवाहरूलाई सशक्त बनाउने खाँचो औंल्याएका छन्। “दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि युवाको सहभागिता अपरिहार्य छ,” गुटरेसले भने। यस वर्षको जनसङ्ख्या दिवसको मूल नारामा पनि “युवालाई सशक्त बनाऔं, उनीहरूले चाहेको परिवार बनाउन अधिकार दिऔं” भन्ने सन्देश दिइएको छ।

नेपालमा पनि आजका दिन विभिन्न संघसंस्था र सरकारी निकायहरूले गोष्ठी, अन्तरक्रिया र सचेतना मूलक कार्यक्रम आयोजना गरेर दिवस मनाइरहेका छन्।

प्रतिकृया दिनुहोस्