
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन्।
काठमाडौँ टावरको नक्सा पाससम्बन्धी विषयमा पछिल्लो समय उठेको विवादको सन्दर्भमा आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरागाईंले कुनै प्रमाण वा आधारबिनै आफूलाई दोषी ठहर्याउने प्रयासप्रति आक्रोश व्यक्त गरे।
“व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला? त्यो विषय त आधिकारिक निकायले भन्नुपर्ने कुरा हो नि,” गुरागाईंले भने, “त्यसरी व्यक्तिको चरित्र हत्या गर्ने कुरा गलत छ।”
गुरागाईंले आफू नगरपालिकामा अनुपस्थित रहेको अवस्थामा पनि लामो समयसम्म कुनै बैठक नबसेको स्पष्ट पारे। उनले मेयरको सचिवालयको हवाला दिँदै आफूलाई आरोप लगाइएकोप्रति आपत्ति जनाए।
“यदि तपाईँलाई कसैले विना प्रमाण चरित्र हत्या गर्छ भने त्यसलाई ठिक भन्न सक्नुहुन्छ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि। अनि उहाँको सचिवालयको हवाला दिँदै मलाई भ्रष्टाचारी करार गर्नु उपयुक्त कसरी हुन्छ?” उनले प्रश्न गरे।
उनले आफूविरुद्ध लागेको आरोपको सत्यतथ्य बुझ्न जिम्मेवार निकायहरू नै उचित ठाउँ भएको उल्लेख गर्दै अहिले भइरहेको एकतर्फी आरोपप्रति असन्तुष्टि व्यक्त गरे।
गुरागाईंले निष्पक्ष छानबिनका लागि आफू सधैं तयार रहेको पनि बताएका छन्।