News Portal

  • नारायणगढ -मुग्लिन सडक खन्डमा ठूलो पहिरो,दुई यात्रुवाहक बस बगायो

    जनगर्जन २०८१ आषाढ २९
    १५१ पटक

    चितवन । नारायणगढ -मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

    सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

    बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ आईरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

    त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ ।

    बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

    उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।

    प्रतिकृया दिनुहोस्