जनगर्जन संवाददाता२०८२ आषाढ १३

मेलम्ची, असार १४ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, रामपुर बेँसीमा शनिबार दिउँसो एक यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्।
बिहान सिन्धुपाल्चोकको भोताङबाट काठमाडौँतर्फ गइरहेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दिउँसो करिब १ बजे मेलम्ची बजारपारि अनियन्त्रित भई मेलम्ची नदी किनारमा पल्टिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने बाँकी ६ जनालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।
बस कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।