
काठमाडौं नेपाली भाषा, साहित्य र सांस्कृतिक एकताको प्रतीक आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आइतबार देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
भानुभक्त आचार्यले संस्कृतमा रचित वाल्मीकिकृत रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर नेपाली जनमानसमा अमूल्य योगदान गरेका थिए। उनले नेपाली भाषामा प्रस्तुत गरेको रामायण आज पनि घरघरमा श्रद्धापूर्वक पाठ गरिने परम्परा कायम छ।
भानुभक्तले नेपाली भाषाको माध्यमबाट नेपाली समाजलाई सांस्कृतिक रूपमा एकिकृत गरेको मानिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा जोड्ने कार्य गरेका थिए। उनी विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मेका थिए।
उनलाई नेपाली भाषामा कविताको जनशैलीमार्फत योगदान पुर्याउने पहिलो स्रष्टाको रूपमा सम्मान गरिन्छ। वधुशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तर लगायत कृतिहरू उनका उल्लेखनीय रचनाहरू हुन्। सरकारी ढिलासुस्तीको विरोध गर्दै उनले लेखेको चर्चित पंक्ति — “भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली” — आज पनि सान्दर्भिक मानिन्छ।
यद्यपि भानुभक्तभन्दा पहिले पनि नेपाली भाषामा साहित्य सिर्जना गर्ने कविहरू थिए भन्ने तर्क उठ्ने गरे पनि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवालीका अनुसार, रामायणजस्तो गहन ग्रन्थलाई नेपाली भाषामा लोकशैलीमा भावानुवाद गर्ने पहिलो व्यक्ति भएकाले भानुभक्तलाई आदिकवि भन्ने आधार सशक्त छ।
भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो। तर उनको काव्यिक योगदान, भाषिक एकीकरण र सांस्कृतिक चेतनाको जागरण आज पनि प्रेरणाको स्रोत बनेको छ। भाषिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वको सम्मान गर्दै भानु जयन्ती मनाउनु सम्पूर्ण नेपालीको कर्तव्य हो भन्नेमा विज्ञहरू एकमत छन्।
