News Portal

शिक्षक आन्दोलन देशको भविष्यसँग गाँसिएको ऐतिहासिक अभियान : प्रकाश सी

जनगर्जन संवाददाता२०८२ बैशाख ३
१८५ पटक

काठमाडौं, २०८२ वैशाख ३ – अखिल (समाजवादी) का केन्द्रीय महासचिव प्रकाश सीले हाल भइरहेको शिक्षक आन्दोलनलाई देशको समग्र भविष्यसँग जोडिएको ऐतिहासिक अभियानको रूपमा वर्णन गर्दै गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

उनका अनुसार, शिक्षक आन्दोलन केवल पेशागत मागहरूमा सीमित नभई शिक्षाको आमूल सुधार र समाज रूपान्तरणको अभियान हो। “शिक्षकहरूले संसारभर भएका परिवर्तनका अनुभवहरूबाट प्रेरणा लिन जरुरी छ, किनकि आन्दोलनको नेतृत्व उत्साह, प्रेरणा र ज्ञानले मात्र सम्भव हुन्छ,” उनले भने।

प्रकाश सीले फ्रान्सेली बौद्धिक क्रान्तिको उदाहरण दिँदै शासकहरू प्रायः आफ्ना कामलाई मात्र सही ठान्ने र जनताको आवाज दबाउन हतगण्डा प्रयोग गर्ने प्रवृत्ति देखिने बताए। “शान्तिपूर्ण आन्दोलनलाई पनि विभाजित, दबाउन र बदनाम गर्न राज्यले अनेकौं उपाय अपनाउने गर्छ,” उनको भनाइ छ।

उनले चेतावनी दिंदै भने, “यदि सरकारले शान्तिपूर्ण शिक्षक आन्दोलनलाई सम्बोधन गरेन भने, शिक्षकहरूले यस व्यवस्थालाई नै परिवर्तन गर्ने खालको आन्दोलन गर्ने ल्यागत राख्नुपर्छ। त्यही बाटोले मात्र शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव हुन्छ।”

प्रकाश सीले भने, नेपाली शिक्षकहरू अहिले इतिहास निर्माणको मोडमा छन्। “यदि हामीले यो मौका गुमायौं भने, शिक्षकहरू पुँजीवादी, संसदीय र व्यक्ति–दल केन्द्रित राजनीतिकाे सिकार बन्ने खतरा छ,।”

प्रतिकृया दिनुहोस्