
काठमाडौं । नयाँ बानेश्वरमा आज कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा विभिन्न समूहहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनमा नागरिक समाजका अगुवा, युवा अभियन्ता तथा राजनीतिक दलका समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पनि प्रदर्शनमा सहभागी हुँदै कुलमानलाई पुनः नियुक्तिको माग गरेकी छन्। उनले कुलमानको कार्यकालमा नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा पुर्याएको प्रगति र सुधारलाई सम्झाउँदै उनको बर्खास्तीलाई अन्यायपूर्ण भनेकी छन्।
प्रदर्शनकारीहरूले ‘कुलमानलाई फर्काउनु पर्छ’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’ जस्ता नाराबाजी गरेका थिए। उनीहरूले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा पुनः घिसिङलाई ल्याउन सरकारसँग माग गरेका छन्।
कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न सफल भएको र ऊर्जा क्षेत्रमा ठूला सुधारहरू गरेको भन्दै उनलाई हटाउनु अनुचित भएको प्रदर्शनकारीहरूको भनाइ छ।
सरकारले कुलमानलाई हटाउने निर्णयको कारण स्पष्ट नगरेको भन्दै यस विषयमा थप स्पष्टता खोज्ने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन्।
नयाँ बानेश्वर क्षेत्रमा भएको यो प्रदर्शनले कुलमानप्रतिको जनसमर्थनलाई पुनः उजागर गरेको छ ।