
काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञा विरुद्ध काठमाडौंको सिंहदरबार अगाडि प्रदर्शन गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो सिंहदरबारको दक्षिण गेटमा उनीहरूले सरकारको निर्णय र पछिल्ला राजनीतिक विषयवस्तुमा विरोध जनाउँदै प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरीले हातमा ‘नेपालीलाई नेपालमै निषेधाज्ञा गर्न पाइँदैन’ र ‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन्?’ भन्ने नारा लेखिएको ब्यानर बोकेका थिए।
सरकारी मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको छेउमै गरिएको प्रदर्शनलाई तत्कालै नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालित भएका थिए। प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखेको छ।
प्रदर्शनकारीहरूले निषेधाज्ञालाई नागरिक स्वतन्त्रतामाथिको अतिक्रमण भनेका छन्। त्यस्तै, गिरिबन्धु चिट्ठा प्रकरणमा सरकार गम्भीर नभएको भन्दै उनीहरूले तत्काल छानबिन र दोषीलाई कारबाहीको माग गरेका थिए।
यस घटनाले पुनः एकपटक सरकारले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कति सुनिश्चित गरेको छ भन्ने बहसलाई तातो बनाएको छ।