News Portal

  • पत्रकारितामा बढ्दै गएको चुनौती रोक्न राज्य जिम्मेवार हुनु पर्नेमा सरोकारवालाहरुको जोड

    जनगर्जन संवाददाता२०८० चैत्र २
    ७० पटक

    गणेश एसके,चैत्र ०२ धनगढी । पत्रकारितामा बढ्दै गएको चुनौती रोक्न राज्य जिम्मेवार हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

    शुक्रबार जनपत्रकार संगठन नेपाल, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो जोड गरेका हुन । बर्तमान आर्थिक ,राजनैतिक संकट र त्यसले आमसञ्चारमा पारेको प्रभाव विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले देशको आर्थिक,राजनीतिक संकटका कारण पत्रकारिता तथा मिडीया जगतले झेल्नु परेको समस्याको समाधानका विषयमा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका हुन ।

    कार्यक्रमका प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष शेर बहादुर बिश्वकर्माले देशमा पछिल्लो समय कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको बताउदै व्यवसाय चल्न नसकेका कारण सञ्चार क्षेत्रले चुनौतीको सामाना गर्नु परेको बताए । आर्थिक मन्दीका कारण सबै भन्दा बढी आमसञ्चार मारमा परेको बताउदै उनले देशको राजनीतिक अस्थिरतका कारण पनि आर्थिक संकट उत्पन्न भएको बताए । मिडिया कमजोर हुनु भनेको नागरिक अधिकार कमजोर हुनु भएको बताउदै उनले नागरिक अधिकार कमजोर भए भने लोकतन्त्र कमजोर हुने बताए । अध्यक्ष बिश्वकर्माले विगतका समयमा राजनीतिक व्यवस्था परिवर्तनमा मिडियाले ठूलो भूमिका खेलेको बताउदै अब सञ्चारको क्षेत्रमा नयाँ बहसको आवश्यकता थपीएको बताए । हिजोको आमसञ्चारको आबस्यकता गणतन्त्र स्थापनाका लागी भएको बताउदै उनले अब समाजवादका लागि मिडिया हुनु पर्ने बताए । वर्तमान आमसञ्चार क्षेत्रमा देखिएका चुनौतीको समाधान गर्न राज्यका निकायहरुले तत्परता देखाउनु पर्ने अध्यक्ष विश्वकर्माले बताए ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेश आन्तरिक मामीला तथा कानून मन्त्रालयका सचिव सुशील वैद्यले प्रदेश सरकार मिडियाको संकट समाधान गर्न प्रयासरत रहेको बताए । उनले प्रदेशले मिडिया लक्षित लोककल्याकारी विज्ञापन प्रदान गर्दै आएको जानकारी गराउदै पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशसंग सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको बताए । पत्रकारको पेसागत हकहितको संरक्षण गर्न मन्त्रालय जिम्मेवार रहेको उनले बताए ।

    त्यसैगरी मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीले सुशासन र मानव अधिकारको प्रत्याभूतिका निम्ति मिडिया क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । उनले नागरिकका मुद्दालाई चित्रण गर्ने आमसञ्चारले पछिल्लो समयमा देशको आर्थिक र राजनीतिक स्थितिका कारण समस्या झेल्नु परेको बताए । राज्यका निकायलाई जिम्मेवार बनाउन खबरदारी गर्ने संस्था प्रति राज्यले सहयोग नगर्ने बताउदै उनले पछिल्लो समयमा मिडिया प्रतिको बढ्दो अविश्वसनीयताका कारण पनि आमसञ्चारमा चुनौती देखिएको ज्ञवालीले बताए । मिडियाले नयाँ ढंगबाट आफूलाई उभ्याउन नसक्नुले पनि े संकट उत्पन्न भएको बताउदै उनले पत्रकारको सुरक्षाका विषयमा मानव अधिकार आयोग संवेदनशील रहेको बताए ।

    प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वारले अहिले मिडियाको क्षेत्र हेर्दा सन्तुष्ट हुन् सक्ने अवस्था नभएको बताए । “देशमा संविधान विरोधी गतिविधि हुनु,राजनीतिक संकट निम्तिनु भएको बताउदै उनले अहिले नेपाली कांग्रेसको महासमिति बैठकले हिन्दू राष्ट्रको नाममा हस्ताक्षर गर्नु नै संविधानको धर्म निरपेक्षता विरोधी कार्य भएको बताए । देशमा भइरहेका यस्तै कामले राजनीतिक संकट बढ्दै गएको बताउदै स्वारले मिडिया क्षेत्रलाई चुस्त दुरुस्त बनाउन स्थानीय र प्रदेश सरकारलाई बढी उत्तरदायी बनाउनरका साथै आमसञ्चार नीति ल्याउनु पर्ने बताए ।

    त्यसैगरी पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले पत्रकारिताको क्षेत्रमा भएको राजनीतिक आबद्धता हट्नु पर्ने बताए । प्रदेश सरकारले आमसञ्चार नीति ल्याउनमा ढिलाइ गरेको बताउदै अध्यक्ष जोशीले पत्रकारितालाई विश्वनिय र मर्यादित बनाउन महासंघ सबैसंग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

    क्रियाशिल दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रदीप मालासीले देशमा आर्थिक संकट उत्पन्न भएका बेला सञ्चारमाध्यमले पनि चुनौती खेप्नु बाध्य हुनु परेको बताए । पत्रकार राजनीतिबाट टाढा हुनु पर्ने भए पनि हुन् नसकेको उनले बताए ।

    त्यसैगरी प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले पत्रकारिताको ठोस बहस हुन जरुरी भएको बताए । कुरा गर्ने काम नगर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने बताउदै उनले यस्ता विषयमा पत्रकार महासंघले छलफल गराउनु पर्नेमा महासंघ सदस्यताको राजनीतिमा मात्रै लिप्त भएको बताए । जनपत्रकार संगठनले उठाएको विषयमा समर्थन गर्दै उनले आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

    त्यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनगढीका कार्यकारी प्रमुख कृष्ण विकले आर्थिक तरलता र राजनीतिक अश्थीरताका कारण समस्या भएको बताउदै जसको प्रभाव सबैतिर परेको बताए । सरकारलाई पेसागत सुरक्षाका विषयमा बढी जिम्मेवार बनाउनु पर्नेमा जोड दिँदै उनले बजेट निर्माणका सन्दर्भमा पत्रकारको क्षमता अभिवृद्धि गर्न ध्यान दिनु पर्ने बताए । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष गणेश नेपालीले पत्रकारिता पेसा खस्कदो , विचार र अभव्यक्तिको रक्षाका विषयमा,मिडियाकर्मी र मिडियालाई व्यवस्थित कसरी गर्ने भन्नेमा सबैले जिम्मेवार र दृढ भएर प्रस्तुत हुनु पर्ने बताए । त्यसैगरी बार एसोसिएसन कैलाली जिल्लाका सचिव रमेश विष्टले आमसञ्चार सम्बन्धी भएका कानून कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए ।

    जनपत्रकार संगठन नेपाल, सुदूरपश्चिम प्रदेश समितिका संयोजक धर्म सिह विकको अध्यक्षतामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रम्मा नेकपा केन्द्रीय सदस्य विमल धामी, कमल विक र अखिल समाजवादीका कोषाध्यक्ष बबरजङग सिह लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्