
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’लाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
पुन दम्पत्ति बिहीबार काठमाडौंको टोखा हाइटस्थित वैद्य निवास पुगेका हुन् । लामो समयदेखि दमको समस्याबाट ग्रस्त रहेका ७९ वर्षीय वैद्यलाई पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएको थियो । त्यसपछि उनलाई १५ जेठमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरी १० दिन सघन उपचारपछि २ असारमा डिस्चार्ज गरिएको थियो ।
अहिले वैद्यको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भएको वर्षमान पुनले बताए । ‘अहिले नियमित अक्सिजन लगाउनुपर्ने अवस्था छैन, बिहान–बेलुका हल्का हिँड्न पनि सक्ने हुनुभएको छ,’ पुनले भने ।
भेटका क्रममा पुन दम्पत्तिले वैद्यसँग राजनीतिकभन्दा पनि स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी गरेको बताए । पुनले वैद्यसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताउँदै २०६१ सालमा आफ्नो दोस्रो सन्तान जन्मिँदा छोरा उत्सवको नाम वैद्यले नै राखिदिएको र उनकी पत्नी सुष्माले लामो समय स्याहारसुसार गरेको पनि सम्झिए ।