
सर्लाही । प्रहरीले फरार सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले आफू कतै भागेर नलुकेको स्पष्ट पारेका छन्। उनले हाल उपचारमा खटिएको भन्दै छिट्टै सर्लाही फर्किने बताएका छन्।
यादवले सामाजिक सञ्जालमार्फत फेशबुक लाइभ गर्दै सर्लाही प्रहरीले झुटा आरोप लगाएको दाबी गरेका छन्। “ममाथि अनावश्यक हिसाबले मुद्दा दर्ता गरिएको छ, त्यसबाट म डराएको छैन,” यादवले भने, “म चाँडै आउँदैछु सर्लाहीमा।”
उनका अनुसार प्रहरीले उनको छोरामाथि कुटपिट गर्दा गर्दनमा गम्भीर चोट लागेको छ, जसको उपचारका लागि उनी परिवारसहित बाहिर रहेका छन्।
सर्लाही प्रहरी प्रमुख (एसपी) योगेन्द्र खड्का र यादवबीचको टेलिफोन कुराकानीमा भनाभन भएको अडियो सार्वजनिक भइसकेको छ। त्यसपछि एक भिडियोमा यादवले एसपी खड्कामाथि मुख छाडेका दृश्यसमेत बाहिरिएका थिए।
घटनापछि सर्लाहीमा केही दिन तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरीले यादवमाथि सार्वजनिक सेवा अवरोध र राजनीतिक उपद्रवको अभियोगमा दुई वटा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत सर्लाहीले उनको नाममा पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ।
यादवले भने आफू र परिवारमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारण जनतालाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। सर्लाही प्रहरी प्रशासनले यसबारे आधिकारिक प्रतिक्रिया भने अझै दिएको छैन।