News Portal

  • पुँजीगत बजेट खर्चमा चाँगुनारायण उपत्यकाकै सर्वोत्कृष्ट

    जनगर्जन संवाददाता
    १०४ पटक

    भक्तपुर, १८ साउन २०८० विकास बजेट पनि भनिने पुँजीगत बजेट परिचालनमा भक्तपुरको चाँगुनारायण नगरपालिका पहिलो भएको छ । उपत्यकामा रहेका २१ स्थानीय तहको पुँजीगत खर्च विवरण हेर्दा चाँगुनारायण नगरपालिका सर्वोत्कृष्ट देखिएको हो ।

    गत आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिकाले आफ्नो कूल पुँजीगत बजेटको ८१.६७ प्रतिसत खर्च गर्न सफल भएपछि पुँजीगत खर्चमा उपत्यकाको सबै स्थानीय तहलाई पछि पार्न सफल भएको देखिन्छ । पुँजीगत तर्फ १ अर्व ८ करोड ५६ लाख बजेट बिनियोजन भएकोमा नगरपालिकाले ८८ लाख ६६ हजार खर्च गर्न सफल भएको हो ।

    चाँगुनारायण नगरपालिकाका प्रवक्ता जनक खत्रीले जनाए अनुसार जनप्रतिनिधिबीच बिकासको कुरामा कुनै बिबाद नहुनु, प्राविधिकहरुले समयमै योजना शुरु गर्नु र निर्माण कम्पनी/ उपभोक्ता समितिले पनि समयमै काम सम्पन्न गर्नु जस्ता कारण पुँजीगत खर्च गर्न नगरपालिका सफल भएको हो । चालु वर्षमा यसलाई अझै बढाएर लैजानेगरी काम गर्ने उनले बताए ।

    पुँजीगत खर्चमा सबैभन्दा कमजोर भने काठमाडौ महानगर रहेको छ । महानगर आफ्नो पुँजीगत बजेटको २५ प्रतिसत मात्र खर्च गरेर सबैभन्दा पछाडी परेको छ । भक्तपुरका अन्य स्थानीय तह भने पुँजीगत खर्चमा सन्तोषजनक स्थितिमा रहेका छन् । सूर्यविनायक नगरपालिकाले ६३ प्रतिसत खर्च गरेको देखिन्छ भने भक्तपुर र मध्यपुर थिमीले ५४ प्रतिसतको हाराहारीमा खर्च गरेका छन् ।

    अर्थराजनीतिका विश्लेषक डिपी ढकालले पुँजीगत खर्च अझै बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । पुँजीगत खर्च स्थानीयको बिकासआवश्यकता र सेवासुविधासंग जोडिएकाले बढी भन्दा बढी खर्च गर्नपर्नेमा उनले जोड दिएका छन् । पुँजीगत खर्च गर्न नसक्ने नेतृत्वलाई सफल मान्न नसकिने भन्दै उनले स्थानीय सरकारले खर्च हुन नसक्नुका कारण पत्ता लगाई त्यसमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस्