
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने संकेतसहित सार्वजनिक कार्यक्रमहरूमा उल्लेख्य उपस्थिति जनाउन थालेकी छन् । पछिल्ला दिनमा एमालेका विभिन्न गतिविधिमा सक्रियता देखाएकी भण्डारी अब खुलेरै पार्टी राजनीतिमा फर्कने तयारीमा रहेको चर्चा सुरु भएको छ ।
शनिबार (असार १४) काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेशनले आयोजना गर्न लागेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि हुनेछन् भने भण्डारी मुख्य वक्ताका रूपमा सहभागी हुनेछिन् । सोही कार्यक्रममा उनले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने तयारीमा रहेको बताइएको छ ।
एमाले नेता कर्ण थापाले रिपोर्टर्स नेपालसँग कुरा गर्दै भने, “पूर्वराष्ट्रपति भण्डारीले भोलिको कार्यक्रममा राजनीतिक विषयमा बोल्नुहुनेछ । फर्किने वा नफर्किने भन्ने कुरा भोलिमै स्पष्ट हुनेछ ।”
ओलीकै उपस्थितिमा भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेशको औपचारिक घोषणा गर्ने सम्भावना रहेको बताइँदैछ । उनी अध्यक्ष ओलीको राजनीतिक ‘साथी’ मात्र नभई मदन भण्डारीको राजनीतिक र वैचारिक विरासत बोकेकी नेतृको रूपमा चिनिन्छिन् । यसले एमालेभित्र भण्डारीको पुनः आगमनलाई नयाँ मोडको रूपमा हेरिएको छ ।
यता माओवादी केन्द्रसहितका वाम घटकहरू पनि भण्डारीको सक्रिय राजनीतिमा पुनः आगमनप्रति सकारात्मक रहेको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीमा स्वागत गरी भण्डारीलाई सहजीकरण गर्ने वातावरण निर्माण गरेको चर्चा छ ।
भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशले वाम राजनीतिमा नयाँ समीकरणको सम्भावना पनि बढेको विश्लेषकहरूको भनाइ छ । अबको दृष्टि राष्ट्रिय सभागृहतर्फ, जहाँ एमाले नेतृत्वको भविष्यको एउटा महत्वपूर्ण संकेत देखिन सक्नेछ ।