News Portal

प्रचण्डद्वारा राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानमा समर्थन

जनगर्जन संवाददाताअसार १५,२०८२
१९ पटक

काठमाडौं, असार १५ । राजनीतिक प्रतिशोधको विरोधमा सञ्चालन गरिएको जनताको हस्ताक्षर अभियानलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समर्थन जनाएका छन्।

पूर्वप्रधानमन्त्री दाहालले सो अभियानमा हस्ताक्षर गर्दै पछिल्लो समय देखा परेका राजनीतिक प्रतिशोधका घटनाले लोकतान्त्रिक मूल्य र जनताको भरोसामाथि प्रहार भएको बताएका छन्। उनले यस्तो प्रवृत्तिविरुद्ध जनस्तरबाट उठाइएको आवाजको समर्थन गर्दै हस्ताक्षर गरेका हुन्।

राजनीतिक स्वार्थ र प्रतिशोधका नाममा राज्य संयन्त्रको दुरुपयोग गरिएको भन्दै यसविरुद्ध जनस्तरबाट व्यापक हस्ताक्षर संकलन अभियान चलाइएको छ। अभियानमा विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक अगुवा, कलाकार, विद्यार्थी र नेताहरूको सहभागिता बढ्दो छ।

यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राउटे समुदायका मुखिया लगायत विभिन्न व्यक्तिहरूले समेत अभियानमा हस्ताक्षर गरिसकेका छन्।

राज्य शक्तिको दुरुपयोग तथा व्यक्तिविशेषलाई लक्षित गरेर गरिने कार्यलाई तत्काल अन्त्य गर्न माग गर्दै यो अभियान देशव्यापी रूपमा विस्तार हुँदै गएको छ।

प्रतिकृया दिनुहोस्