News Portal

  • जनप्रतिनिधीले नै दलितले भान्सा छोएको भन्दै फालिदिए खाना

    जनगर्जन संवाददाता
    ९१ पटक

    पोखरा/ आफन्तका छोराको व्रतवन्धमा सहभागी भएका व्यक्तिमाथि जनप्रतिनिधीले नै जातीय विभेद गरेका छन । घटना गत फागुन २५ गतेको हो । पोखराबाट नारायण परियार आफन्त सन्तोष परियारका छोराको व्रतवन्धमा सहभागी हुन माछापुच्छ«े गाउँपालिका ५ स्थित रिभान पुगे।

    व्रतवन्धमा सहभागी उनले आफन्तका छोरालाई धर्म संस्कार अनुसार टिका तथा दान दक्षिणा दिन्छन । त्यसपछि प्रसाद ग्रहण गर्न जान्छन । तर, प्रसाद लिन गएका नारायणलाई उनको ‘थर के हो ?’ भनेर सोधिन्छ ।

    प्रश्न सोध्नेलाई उनले पूजा भइरहेको घरमूलीको आफन्त भनेर चिनाउँछन । त्यसपछि उनलाई जवाफ आउँछ, तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ ।”

    प्रश्नकर्ता स्थानीय सीता लामिछाने हुन । उनले नै त्यहाँ दलित र ब्राह्मणको नाममा छुट्टाछुट्टै भान्सा बनाइएको बताइन ।
    तर, आफूमाथि विभेद भएपछि नारायणले प्रतिप्रश्न गर्न थाले । उनले सोधे, “मैले यही भान्सामा खाँदा के हुन्छ ?”
    सीताले जवाफ फर्काइन, “यो बाहुन भान्सा हो यहाँ ब्राह्मण÷क्षेत्रीले मात्र खाने हो, हाम्रो बृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमिहरुले छोएको खानुहुँदैन ।”

    नारायणले पनि भने, “अहिलेको समयमा यस्तो कुरा नगर्नु ..।”
    उनले जवाफ दिन भ्याइसकेका थिएनन । वडा नं. ५ का वडासदस्य रामजी लामिछाने त्यहाँ आए । जनप्रतिनिधी आइसकेपछि त्यहाँ देखिएको स्थितीलाई अगाडि बढ्न नदिनुपर्ने हो । तर, लामिछाने नै अगाडि बढेर खाना नै भुइँमा घोप्टाइदिए ।

    आफूमाथि जातीय विभेद भएको भन्दै शनिबार पत्रकार सम्मेलन गरेका नारायणले भने, “तिमी दलितहरु ठुला पल्टिन्छौ, हाम्रो भान्सा जुठो भयो भन्दै रामजी लामीछानेले भान्सामा भएको दाल, भात, तरकारी सबै भुई भरी फालिदिनुभयो ।”

    रामजीलाई साथ दिँदै स्थानीय सुजन लामिछानेले पनि “किन बाहुन भान्सामा बिटुलो पार्यो भन्दै अपमानजनक व्यवहार गरे ।”
    पत्रकार सम्मेलनमा उनले भने त्यसपछि आफू व्रतवन्ध नै छाडेर पोखरा फर्किएको बताएका छन ।

    उनी फर्केपछि पनि अर्को समस्या थपियो । जसको घरमा उनी आफन्त बन्न गएका थिए । उनले नै फोन गरेर डेढलाख रुपैयाँ तिर्न लगाए ।
    “सन्तोष परियारले फोन गरि तिमीले भान्सामा गई छोइदिएकोले ती सबै पाकोको खानाहरु फाल्नु पर्यो। एकलाख पचास हजारको खाना खेर गयो । मेरा बाहुन/क्षेत्री पाहुनाको पनि अपमान भयो । नारायणले भने

    त्यतिमात्रै होइन उनलाई कुल कुटुम्बबाट निकाल्ने र व्रतवन्धमा खर्च भएको रकम तिर्न भन्दै तारन्तार फोन गर्न थाले ।
    “हाम्रो धर्म संस्कारलाई नमानि मेरो व्रतबन्धको कार्य नै विफल बनायौ, अब तिमिलाई हाम्रो कूल कुटुम्बबाट निकाल्छौं । हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमिले दिएको घन्टी पनि लैजाऊ, तिमीले जसरी पनि व्रतबन्धमा खर्च भएको रकम तिर्नु पर्यो।” सन्तोषले फोनमा भनेका कुराहरु पनि उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन ।

    घटनापछि विक्षिप्त बनेका नारायणले आफूमाथि जातीय विभेद गर्ने जनप्रतिनिधि रामजी लामिछाने, सीता लामिछाने, छुट्टै भान्सा बनाउनुपर्छ भनेर दबाव दिने सन्दीप परियार, जातीय विभेद हुँदा पनि उल्टै पीडितलाई क्षतिपूर्ति माग्र्ने सन्तोष परियारलगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।

    कास्की प्रहरीले पीडक भनिएका सन्तोष परियार र सुजन लामिछानेलाई पक्राउ गरेको छ । अर्का पीडक जनप्रतिनिधि रामजी लामिछाने र सीता लामिछाने भने फरार रहेका छन ।

    ईन्सेक गण्डकी मुक्ति समाज कास्की, नेपाल दलित संघ कास्की, नेपाल दलित मुक्ति मोर्चा कास्की, नेपाल दलित मुक्ति संगठन कास्की, दलित महिला संघ (फेडो) कास्की, विश्वकर्मा समाज कास्की, मिजार समाज कास्की, दलित सञ्जाल कास्कीलगायतले संयुक्त विज्ञप्ति जारी गरेर जातीय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गरेका छन् । उनीहरुले पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन अपिल पनि गरेका छन ।

    नेपालको संविधान २०७२ धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक र २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरिएको छ ।

    जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ को दफा ३ ले भेदभाव गर्न नहुने उल्लेख गरिएको छ । यो दफामा, “कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव गर्न वा गराउन नहुने, छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मद्धत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तको कार्यको उद्योग गर्न हुँदैन ।” भन्ने उल्लेख गरिएको छ ।
    यो दफा विपरितको कार्य गरेमा कसुर गरेको मानिने उल्लेख छ ।

    यसविपरित कसुर गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।
    ऐनको दफा ७ (२) ले सार्वजनिक पद धारण गरेको व्यक्तिले उपदफा (१) बमोजिमको कसुर गरेमा नीजलाई सो उपदफामा उल्लिखित सजायमा पचास प्रतिशत थप सजाय हुने व्यवस्था गरेको छ ।

    पीडित नारायणले पीडक जनप्रतिनिधी समेत भएको हुँदा दफा ७ (२) बमोजिमको थप सजाय माग गरेका छन ।

    प्रतिकृया दिनुहोस्