News Portal

  • रञ्जितालाई सम्झाउन नसक्नु मेरो हार होइन, विवशता हो:-रेशम चौधरी

    जनगर्जन संवाददाता२०८० फाल्गुण ३०
    ८५ पटक

    काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले श्रीमती रन्जितासँगको राजनीतिक विवादबारे फेसबुकमा लामो स्टाटस लेखेका छन्। उनले कैलालीदेखि काठमाडौं आएर दुई घन्टा छलफल गर्दा पनि आफ्नी श्रीमतीलाई सम्झाउन नसकेको उल्लेख गरेका छन्।

    प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन नगर्ने विषयमा सम्झाउन आफूले गरेको प्रयासबारे चौधरीले लेखेका छन्, ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्।’

    प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबीच विवाद छ। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न।’

    आफू घर-परिवारको भन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभई विवशता भएको बताएका छन्। ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

    रेशमले लेखेका छन्, ‘उनको (रन्जिताको) भनाइ छ । प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौं।’

    ‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं । जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो,’ रेशमले लेखेका छन्।

    प्रतिकृया दिनुहोस्