News Portal

बाँकेमा गुणस्तरहीन जार पानी खुलेआम बिक्री

"उत्पादन मिति र एक्स्पायरी डेट नभएका जारपानीले स्वास्थ्यमा गम्भीर जोखिम" "जिल्ला प्रशासनद्वारा अनुगमन सुरु, कुच्चिएका जार र सरसफाइको चरम लापरवाही भेटियो"

जनगर्जन संवाददाता२०८२ बैशाख २८
१०० पटक

बाँके । बाँके जिल्लामा सञ्चालित केही पानी उद्योगहरूमा व्यापक लापरवाही भेटिएपछि जिल्ला प्रशासनले अनुगमनको काम शुरु गरेको छ । हालैको अनुगमनमा बिक्रीमा रहेका बोतल तथा जार पानीहरूमा उत्पादन मिति (Manufacturing Date) र उपभोग्य मिति (Expiry Date) उल्लेख नगरी बजारमा पठाइएको पाइयो। साथै, केही जार तथा बोतलमा म्याद गुज्रिएको पानीसमेत बिक्री गरिएको पाइएको छ, जसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्छ ।

अनुगमनको अभावले खुला खेला
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्ला केही महिनादेखि पानी उद्योगहरूको नियमित अनुगमन नगरेको पाइएको छ। यसकै कारणले गुणस्तरहीन पानी बजारमा खुलेआम बिक्री भइरहेको छ। उपभोक्ताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्तो संवेदनशील क्षेत्रमा सरकारको कमजोरी देखिनु चिन्ताजनक भएको नागरिकहरुको भनाइ छ।

नेपालगन्ज, काेहलपुर लगायतका शहर र गाउँमा अत्याधिक पाउने याे पानी खरिदमा सावधानी अपनाउन जानकारहरुले आम नागरिक र उपभोक्तालाई अपिल गरेका छन ।

अनुगमन सुरु भए पनि अझ कडाइ आवश्यक
हाल अनुगमन कार्य सुरु गरिएको भए पनि दीर्घकालीन समाधानका लागि नियमित निरीक्षण, गुणस्तर प्रमाणीकरण, तथा दोषी उद्योगहरूमाथि कडा कारबाही आवश्यक देखिएको छ। उपभोक्ताको स्वास्थ्यलाई नजरअन्दाज गरी सञ्चालन हुने यस्तो व्यवसायलाई कानुनी दायरामा ल्याउनेतर्फ सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने अवस्था छ।

गुणस्तरमा गम्भीर लापरवाही
अनुगमन सही तरिकाले गर्ने हो भने जिल्लामा धेरै उद्योगहरूले सरसफाइमा ध्यान नदिएको, उद्योग सञ्चालन अनुमतिपत्र नवीकरण नगरेको, कुच्चिएका, पुराना तथा फोहोर जारहरूमा एमसिल टाँसी बिक्री गरिरहेको पाइएको छ। यदी पानी परिक्षण गर्ने हो भने यस्ता पानीहरुमा ‘कोलिफर्म’ जस्ता जीवाणुहरू भेटिने संभावना प्रबल देखिन्छ । जुन झाडापखाला, बान्ता, पेट दुख्नेजस्ता रोगहरू फैलाउने कारक हुन् । कतिपय उद्योगहरूले म्याद गुज्रिएका पानीहरू समेत नयाँ म्याद टाँसी पुनः बिक्री गरेको शंका समेत गरिएको छ।

पानी मानव जिवनको लागि प्राण हो तसर्थ बजारको पानी किन्नु अघि यी कुराहरुमा ध्यान पुर्याउनु आवश्यक देखिन्छ ।

उत्पादन र उपभोग्य मिति जाँच्नुहोस्: जार वा बोतल किन्ने बेला म्यानुफ्याक्चरिङ र एक्स्पायरी डेट प्रस्ट रूपमा उल्लेख भएको छ कि छैन भनेर हेर्नुहोस्।

सफा र नयाँ जारको प्रयोग गर्नुहोस्: कुच्चिएको, पुरानो वा फोहोर जारमा पानी नकिन्नुहोस्।

उमालेर वा फिल्टर गरेर पिउनुहोस्: यदि पानीको स्रोतप्रति शंका छ भने उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउनुहोस्।

अनुमतिपत्र भएको उद्योगको पानी किन्नुहोस्: उद्योग दर्ता र अनुगमनमा रहेका ब्राण्डहरू छनोट गर्नुहोस्।

प्रतिकृया दिनुहोस्