
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे निलम्बनमा परेपछि एमाले नेता तथा सांसद महेश बस्नेतले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।
बस्नेतले फेसबुकमार्फत लेख्दै अघिल्लो कार्यकालमा बालेन नेतृत्वमा गरिएको कारबाही र क्रियाकलापहरूको आलोचना गर्दै, अहिले पाण्डे स्वयंले न्याय खोज्नु विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन्।
“अरूको घर भत्काउँदा त्यो भित्रको आँसु देखेनौ, ठेला गाडा फाल्दा त्यो कमाइले छोराछोरी पढ्दैछ भन्ने सम्झनै परेन,” बस्नेतले लेखेका छन्।
उनले थपे, “सुकुम्बासी लखेट्दा, डोजर चलाउँदा, र प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा ताला लगाउँदा कसैको इज्जत सम्झेनौ। आज बिरामी आमाको नाममा सहानुभूति खोज्दै फेसबुक भरिएको छ।”
एसएसपी पाण्डेमाथि ६ महिनाको निलम्बनको कारबाही भएपछि सार्वजनिक रूपमा न्यायको माग गर्दै सामाजिक सञ्जालमा पोस्टहरू आएका छन्। सोही सन्दर्भमा बस्नेतले तीव्र प्रतिक्रिया जनाएका हुन्।
उनले पाण्डेलाई शैली सुधार गर्न, आत्ममूल्यांकन गर्न र गल्ती स्वीकार्न सुझाव दिँदै लेखेका छन्, “६ महिनाको निलम्बनलाई आत्ममूल्यांकन बनाउ, विधिको सम्मान गर, अनि गल्ती स्वीकार गर — सहानुभूति पक्कै आउँछ।”
राजुनाथ पाण्डे बालेन शाहका निकट र विश्वासपात्र मानिंदै आएका थिए। हालको निलम्बनको घटनाले काठमाडौं महानगरपालिकाभित्रको प्रशासनिक तथा राजनीतिक खिचातानी फेरि सतहमा आएको देखिएको छ।