
कोहलपुर, असार १४ । सिटी युथ क्लबको आयोजनामा बाँकेको कोहलपुरस्थित १३ बिगाहा फुटबल मैदानमा जारी आधारभूत तह १४ वर्ष मुनिको छात्र फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ।
प्रतियोगिताको फाईनल खेल भोलि असार १५ गते (शनिबार) दिउँसो ४ बजे हुने भएको छ। फाईनलमा जीवन ज्योति स्कुल, रामनगर र ज्ञान ज्योति मा.वि., चपरागौरी आमनेसामने भिड्दैछन्। दुवै विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै फाईनलसम्मको यात्रा तय गरेका हुन्।
प्रतियोगिताका विजेता टिमले ५०,००० रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र शिल प्राप्त गर्नेछ। उपविजेताले ३०,००० रुपैयाँ, र तेस्रो स्थान हासिल गर्ने टिमले १५,००० रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल पाउने छन्।
यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ५,००० रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता साना उमेर समूहका विद्यार्थीहरूबीच खेलकुदको विकास र प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको हो। आयोजक सिटी युथ क्लबले खेललाई सफल बनाउन कोहलपुर क्षेत्रका स्थानीय विद्यालय, अभिभावक तथा खेलप्रेमीहरूलाई क्लबका अध्यक्ष युवराज शाहीले उपस्थितिका लागि आह्वान गरेको छन् ।