News Portal

‘शेरबहादुर दाइले भन्नुभयो भने दुई मिनेटमै राजीनामा दिन्छु’ : कान्छाराम तामाङ

जनगर्जन संवाददाता२०८२ आषाढ १२
२२ पटक

काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंहलाई लक्षित गर्दै कडा आलोचना गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामाका लागि चिठ्ठी पठाए दुई मिनेटमै राजीनामा बुझाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै तामाङले भने, “मलाई पदको लोभ छैन । अहिले चिठ्ठी पठाएर ‘राजीनामा देऊ’ भन्नुभयो भने दुई मिनेटभित्र पार्टी कार्यालयमा राजीनामा पुर्‍याइदिन्छु ।” उनले सिंहलाई आफ्नो जिल्लामा मात्र बढी बजेट खन्याएको आरोप लगाए भने अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो जिल्लामा ६ अर्ब ५० करोड रुपैयाँ बजेट पठाएको भन्दै आलोचना गरे।

“अर्थमन्त्री पौडेल र सहरी विकासमन्त्री सिंहले यो देशको सम्पत्ति आफ्नो बाउको जस्तो मानेका छन्,” उनले भने । उनले आफूले संसद्मा सचेतना बढाउन मात्र बजेटको विरोध गरेको स्पष्ट पारे र आगामी निर्वाचनमा टिकट नपाए पनि पार्टी नछाड्ने अडान राखे ।

तामाङले आफ्नो आलोचना व्यक्तिगत नभई सरकारले गरेको अन्याय र असन्तुलित बजेट वितरणविरुद्ध भएको बताए । “पार्टीलाई घाटा हुने गरी केही गरेको छैन, गल्ती पार्टीका वरिष्ठ नेताले गरे भने पनि म सचेत गराउन पछि हट्ने छैन,” उनले थपे ।

प्रतिकृया दिनुहोस्