
बाँके, बैजनाथ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत बजेट अन्तर्गत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा मल्चिंग प्लास्टिक वितरण गरेको छ।
गाउँपालिकाको कृषि शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा ९ वटा कृषक समूह, ११ वटा कृषि फर्म तथा एउटा सहकारी संस्था गरी जम्मा २१ लाभग्राहीलाई मल्चिंग प्लास्टिक प्रदान गरिएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार कृषकहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै पालिकाले यस्ता अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको हो। “कृषिमा यान्त्रिकीकरण र प्रविधिको पहुँच विस्तार गर्दै, पालिकाले समय समयमा ७० प्रतिशत अनुदानमा कृषि औजार, मल, बीउ, मोटरलगायत सामग्री वितरण गर्दै आएको छ,” अध्यक्ष शाहीले बताए।
कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले मल्चिंग प्लास्टिक वितरण कार्यक्रम आधुनिक कृषि प्रणालीतर्फ किसानलाई उन्मुख गराउँदै उत्पादनमा वृद्धिका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरे। “खेतीमा प्लास्टिक मल्चिंगको प्रयोगले नमी संरक्षण, झारपात नियन्त्रण र मल–पानीको उचित व्यवस्थापनमा टेवा पुर्याउँछ,” उनले भने।
स्थानिय सरकारद्वारा प्रविधिमैत्री कृषिमा गरिएको यो पहलले कृषि उत्पादन वृद्धिसँगै युवापुस्तालाई समेत आधुनिक कृषि प्रणालीमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।