News Portal

बर्दघाटको दिव्यज्योति क्याम्पसमा ७५ युवाले लिए उद्यमशीलता तालिम

जनगर्जन संवाददाता२०८२ जेठ २२
६३ पटक

नवलपरासी । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम अन्तर्गत आज बर्दघाट २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको हो । पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले उनीहरुलाई प्रमाणपत्र उपलब्ध गराउनुभएको थियो । पहिलो चरणमा सोहि क्याम्पसबाट ५० जना युवाहरुले तालिम लिएर उद्यमशीलता सुरु गरिसकेका छन् ।

सांसद चौधरीले युवाहरुलाई आफूले तालिमबाट सिकेको कुरा साथीहरुलाई पनि सिकाउन आग्रह गरे । ‘दिव्यज्योतिले ५० वटा उद्यमी पहिला नै जन्माइसकेको छ । अब यी नयाँ भाइबहिनीहरुले के संकल्प गरेर जानुपर्छ भने म आफु मात्रै म सफल हुन्न,’ उहाँले भन्नुभयो, ‘‘इच वान टिच वान’ भन्ने सिद्धान्त अंगिकार गर्नुपर्छ । म मात्र हैन म अर्को पनि एउटा उद्यमी जन्माउछु भन्ने मानसिकताका साथ आज तपाईहरु यहाँबाट जानुभयो भने नविलको यो कामले सार्थकता पाउँछ ।’
नेपालका प्रतिष्ठित उद्योगपतिसमेत रहेका संघीय सांसद चौधरीले उद्यमशील बन्न अनुशासन र आत्मविश्वास आवश्यक हुने बताउनुभयो ।
उद्यमशीलताले खोज्ने भनेको सबैभन्दा ठुलो कुरा अनुशासन हो । दोस्रो, आफूमाथि विश्वास गर्नू हो । यदि आफूमा आत्मविश्वास छ भने जस्तोसुकै कठिन समयमा पनि तपाईले सफलता प्राप्त गर्नसक्नुहुन्छ,’ उहाँले भन्नुभयो ।
पछिल्लो समय नेपालमा केहि पनि गर्न सम्भव छैन भन्दै युवाहरुमा निराशा बढेको आफूले पाएको उहाँको भनाई थियो । कहाँ नेपालमा गर्न सकिन्छ ? यहाँ गर्नै दिँदैन । सरकारले दुख दिन्छ । फलानाले दुख दिन्छ यसले दुख दिन्छ, उसले दुख दिन्छ । त्यो त्यो मानसिकता बोक्ने मानिसले कहिले पनि केहि गर्न सक्दैन, सांसद चौधरीको भन्नुभयो, ‘यस्तो निराशाका बीचमा म गर्छु भन्ने पनि मान्छेको एउटा ठुलै जमात छ देशमा । उहाँहरुले गरिराख्नुभएको छ ।’

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानमा टेवा पुर्याउने लक्ष्य लिएको नबिल बैंकले जनाएको छ । बैंकले यो कार्यक्रम अन्तर्गत देशभर विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा युवाहरुलाई उद्यमशील तामिल दिँदै आएको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवीन उद्यमशील सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको व्यावसायिक सपनालाई साकार पार्न सहयोग गर्नु कार्यक्रमको उद्धेश्य रहेको छ ।

प्रतिकृया दिनुहोस्