News Portal

भालुवाङ ट्राफिक चेकपोइन्टमा पशु ढुवानी गाडीलाई विशेष छूट ?

स्थानीयको गुनासो : "नियम सबका लागि बराबर हुनुपर्छ"

जनगर्जन संवाददाता२०८२ जेठ २५
१९४ पटक

दाङ, भालुवाङ – दाङ जिल्लाको प्रमुख प्रवेशद्वार मानिने भालुवाङ ट्राफिक चेकपोइन्टमा ट्राफिक प्रहरीद्वारा पशु ढुवानी गर्ने गाडीहरूलाई बिना इन्ट्रि पास छाडिएको आरोप स्थानीयहरूले लगाएका छन्।

स्थानीय व्यवसायी, चालक तथा सर्वसाधारणका अनुसार, अन्य सवारी साधनहरूलाई कडाइका साथ इन्ट्रि शुल्क तिराइन्छ भने, कुखुरा, गोरु, बाख्रा लगायत पशु ढुवानी गर्ने गाडीहरूलाई भने सहजै पास गरिने गरेको पाइन्छ। यसरी एकै चेकपोइन्टमा दुई किसिमको व्यवहार देखिनुले नियमको समान कार्यान्वयनमा प्रश्न उठाएको छ।

एक व्यवसायी भन्छन्, “हामीले नियमअनुसार इन्ट्रि तिर्नै पर्छ, तर त्यही ठाउँमा कुखुरा र गोरु बोक्ने गाडीहरूलाई बिना कुनै रोकटोक छाडिन्छ। यसले देखाउँछ कि नियम सबैका लागि बराबर छैन।”

एक ट्रक चालकले नाम नखुलाउने शर्तमा बताए, “कहिलेकाहीँ चिनेको मान्छे, सिधा सवारी वा काम लाग्ने गाडी भनेर छुट दिइन्छ। पछाडि केही लेनदेन हुने गरेको हल्ला पनि सुनिन्छ।”

ट्राफिक नियमअनुसार सार्वजनिक सवारी तथा ढुवानी गर्ने सबै गाडीले तोकिएको इन्ट्रि शुल्क तिर्नुपर्ने व्यवस्था छ। तर पशु बोक्ने गाडीहरूलाई यसरी बिना इन्ट्रि पास जान दिनु न त कानुनी हो, न नै उचित। यसले सरकारको राजस्वमा ह्रास मात्रै होइन, ट्राफिक व्यवस्थापनमा असमानता र कानुनी शासनप्रति अविश्वास पनि बढाएको स्थानीयहरू बताउँछन्।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको, यस्तो कार्य दैनिकजसो भइरहँदा पनि कुनै निगरानी, अनुगमन वा कारवाही नहुनु हो। यसले कानुनी नियम उल्लंघन गर्नेलाई प्रोत्साहन गर्छ भने नियम पालना गर्नेहरूलाई हतोत्साहित बनाउँछ।

स्थानीयवासीहरूले अब भालुवाङ चेकपोइन्टको यो व्यवहारबारे गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरू भन्छन्, “यो समस्या केवल भालुवाङको मात्र होइन, यस्ता व्यवहारलाई समयमै नियन्त्रण नगरे अन्य चेकपोइन्टमा पनि उस्तै मनोमानी फैलन सक्छ।”

अहिलेको आवश्यकता भनेको – निष्पक्ष छानबिन समिति गठन, दोषी प्रहरी वा कर्मचारीमाथि कारवाही, र ट्राफिक नियमको समान कार्यान्वयन सुनिश्चित गर्नु हो। यदि तुरुन्तै आवश्यक कदम चालिएन भने, यसले आम जनतामा ट्राफिकप्रतिको विश्वास गुम्ने खतरा बढाउने निश्चित छ।

प्रतिकृया दिनुहोस्