News Portal

लेखक पत्रकारहरुका लागि कला साहित्यबारे प्रशिक्षण

शेरबहादुर विश्वकर्मा२०८२ जेठ २७
९७ पटक

काठमाडौ । प्रगतिवादी लेखकहरु र जनपक्षीय पत्रकारहरुका लागि कला, साहित्य र सँस्कृतिबारे प्रशिक्षण सम्पन्न गरिएको छ।अखिल नेपाल जनसाँस्कृतिक महासंघ बागमती प्रदेश र जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा सोमबार काठमाडौमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

पत्रकार र लेखकहरुको लेखन क्षमता अभिवृद्धि गर्ने र कला साहित्यका विभिन्न विद्याबारे आधारभूत ज्ञान दिने उदेश्यले सञ्चालन गरिएको १ दिने कार्यक्रममा प्रगतिवादी स्रष्टा खेम थपलिया, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवम् साहित्यकार डा.अमर गिरि र जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले बिषयबस्तुमाथी प्रकाश पारेका थिए।

कार्यक्रममा प्रशिक्षक खेम थपलियाले कलाको अर्थ निर्माण हो, उदेश्यपूर्ण श्रम यसको श्रोत हो भन्दै कला- ज्ञान र यथार्थको सिर्जनात्मक पुनरुत्पादन भएको बताए ।

उहाँले कलालाई ललितकला र उपयोगी कला गरी दुई भागमा बिभाजन गरेर अध्ययन गर्ने चलन रहेको उल्लेख गर्दै मार्क्सवादी र संशोधनवादी गरी सौन्दर्यशास्त्रलाई पनि दुई भागमा बाँडेर अध्ययन गर्नुपर्ने बताए ।

मार्क्सवादी सौन्दर्यशास्त्रका प्रवर्गहरु: सुन्दर,उदात्त, त्रासदी,प्रहसनात्मक र जनयुद्धद्वारा स्थापित नयाँ यथार्थबारे बिस्तृत व्याख्या गर्दै मानवीकरण,विमानवीकरण,पुनर्मानवीकरण र प्रारुपीकरण जस्ता साहित्यका अवधारणाबारे प्रकाश पारेका थिए।

सन् १९६६ देखि १९७६ सम्म चीनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष माओको नेतृत्वमा सञ्चालन गरेको सर्वहारा साँस्कृतिक क्रान्ति र साँस्कृति आन्दोलनबारे चर्चा गर्दै प्रगतिवादी स्रष्टा थपलियाले राजनीतिलाई शीर्ष स्थानमा राख्नु, सयौं फूलहरु फूल्न दिनु, लाल र निपुण हुनु र क्रान्तिकारी उत्तराधिकारी तयार गर्नु साँस्कृति क्रान्तिको प्रमुख उदेश्य रहेको बताए ।


कार्यक्रममा प्रशिक्षक डा. अमर गिरिले साहित्यका पूर्वीय र पाश्चात्य सिद्धान्तको चर्चा गर्दै साहित्यमा शब्द र अर्थको मेल हुनुपर्ने र त्यसको सम्बन्ध मानवीय अनुभूतिसंग जोडिएको बताए।

साहित्य सिर्जनामा श्रस्टा र प्रतिभाबारे मार्क्सवादी र गैरमार्क्सवादी मान्यता रहेको उल्लेख गर्दै डा . गिरिले पुँजीवादीहरुले प्रतिभाहरु प्राकृतिक र इश्वरिय उपज भएको भन्छन् भने त्यसको बिपरित मार्क्सवाद अनुसार सिर्जनाको प्रमुख आधार श्रम भएको बताए ।

समाजमा साहित्यको के प्रयोजन हुन्छ ? भन्ने बिषयमा समेत फरकफरक धारणा रहेको उल्लेख गर्दै उहाँले पूर्वीय ग्रन्थहरुमा साहित्यलाई धर्म, अर्थ, काम र मोक्षसङ्ग जोडेर अध्ययन गर्ने परम्परा रहेको बताए ।
साहित्य किन पढ्ने, किन लेख्ने र यसको प्रयोजन के छ भन्ने सन्दर्भमा चर्चा गर्दै उहाँले मार्क्सवादले साहित्यलाई सुखानुभूतिका साथै सामाजिक रुपान्तरणमा जोड दिएको बताए ।

साहित्य बिचारधारात्मक, शिक्षात्मक, संज्ञानात्मक र सौन्दर्यात्मक हुने भन्दै उनले कवितालाई महाकाव्य, खण्डकाव्य र लघु काव्य गरि बिभाजन गर्न सकिने बताए ।

कविता विद्यामा विद्याबारिधी समेत गरेका उहाँले समाजमा सहितका अरु विद्याको तुलनामा कविता बढी लेखिने गरेको उल्लेख गर्दै असल कवितामा बिषयवस्तु,भाव बिचार,भाषा शैली,अलंकार र लय जस्ता तत्वहरुको सहि संयोजन हुनुपर्ने बताए ।

प्रशिक्षणको क्रममा उहाँले मार्क्सवादी साहित्यको छोटो चर्चा गर्दै साहित्यको जन्म उत्पादन र श्रम प्रक्रियामा भएको,साहित्यलाई समाजको आर्थिक सामाजिक जीवनसङ्ग जोडेर हेर्नुपर्ने,साहित्यले समाजलाई दिशानिर्देश गर्ने, साहित्यमा यथार्थको प्रतिबिम्बन हुनुपर्ने, साहित्यले सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने, साहित्य बर्गीय आधार हुनुका साथै सुन्दर समाजको निर्माण मार्क्सवादी साहित्यको उदेश्य भएको बताए ।

त्यस्तै कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरवहादुर विश्वकर्माले साहित्य, कला , सँस्कृति र पत्रकारिताको सम्बन्ध सामाजिक व्यवस्था र अर्थप्रणालीसङ्ग जोडिएको बिषय भएको चर्चा गर्दै आधार र उपरि संरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्धबारे चित्र बनाएर बिषको प्रस्तुति गरेका थिए।

जनसाँस्कृतिक महासंघका महासचिव कुशल बोगटी, प्रगतिवादी स्रष्टा भीम भारतीको सहभागिता रहेको कार्यक्रममा जनसांस्कृतिक महासंघका गोविन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जनपत्रकार संगठन नेपाल सचिवालय सदस्य शोभाराज बरालले गरेका थिए।

प्रतिकृया दिनुहोस्