News Portal

  • कानुन तथा मानवअधिकार विभागका सदस्यलाई महासचिव विप्लवको राजनीतिक प्रशिक्षण

    जनगर्जन संवाददाता
    ३२८ पटक

    काठमाडौँ : नेकपाका महासचिव विप्लवले कानुन तथा मानवअधिकार विभागका सदस्यलाई राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएका छन् । महासचिव विप्लवले काठमाडौँमा आज नेकपाको कानुन तथा मानवअधिकार विभागका सदस्यलाई पार्टी बैठकका निर्णय तथा समसामयिक राजनीतिक अवस्थाबारे प्रशिक्षण दिएका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार महासचिव विप्लवले कानुन तथा मानवअधिकार विभागका सदस्यहरूलाई पार्टी केन्द्रीय समितिको बाह्रौँ बैठकले पार्टी दर्ता गराएर चुनावमा नजाने तर देशभक्त, एमसीसीविरोधीहरूलाई स्वतन्त्र रूपमा सघाउन सकिने निर्णय गरेको प्रस्ट पारेका थिए । प्रशिक्षणका क्रममा पार्टी महासचिव विप्लवले चुनावका सन्दर्भमा संसदीय व्यवस्थाको भन्डाफोर गर्ने र जनतासँगको सम्बन्ध बढाउने विषय पनि प्रस्तुत गरेका थिए ।

    प्रशिक्षणमा सहभागी २२ जना कानुन तथा मानवअधिकार विभागका सदस्यहरूले महासचिव विप्लवलाई पार्टीको केन्द्रीय समितिको निर्णय पार्टी चुनावमा नजाने भए पनि पछिल्लो अवस्थामा चुनावको विषयलाई लिएर पार्टीमा देखिएका विभिन्नखाले गतिविधिबारे जिज्ञासा राखेका थिए । महासचिव विप्लवले पार्टी निर्णयका विरुद्ध कोही पनि जानु नहुने भन्दै संसदीय व्यवस्थाका विरुद्ध र वैज्ञानिक समाजवादका पक्षमा लाग्न जनसम्बन्ध विकास गरिने बताएका थिए ।

    प्रशिक्षणमा नेकपाका केन्द्रीय सदस्य एवम् कानुन तथा मावअधिकार विभागका इन्चार्ज प्रज्वलनले पनि समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।

    प्रतिकृया दिनुहोस्