
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएको भन्दै गृह मन्त्रालयमा चिठी पठाएको सरकारी गाडी दुई दिनमै मन्त्रालयमै फिर्ता भएको छ। तर गाडी किन हरायो, कोसँग थियो, कसले प्रयोग गर्यो भन्नेबारे मन्त्रालयका उच्च अधिकारीहरू मौन छन्।
प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी हराएको भन्दै श्रम मन्त्रालयले असार १५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै खोजतलास र कानुनी कारबाहीको आग्रह गरेको थियो। तर सो पत्र पठाएको दुई दिनपछि गाडी पुनः मन्त्रालयमा ल्याइएको हो।
मन्त्रालय स्रोतका अनुसार उक्त गाडी श्रममन्त्री शरतसिंह भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई निजी प्रयोजनका लागि प्रयोग गर्न दिएको दाबी छ। गाडी हराएको भनिएपछि ठाकुरका सहयोगीहरूले नै गाडी फर्काइदिएको जनाइएको छ।
श्रम मन्त्रालयका प्रवक्ता डण्डु घिमिरेले गाडी हराएको चिठी पठाइएको पुष्टि गर्दै भने, “गाडी कसले प्रयोग गर्यो भन्ने जानकारी छैन, तर दुई दिनमै मन्त्रालयमा आइपुग्यो।”
यस विषयमा लोसपा महासचिव डा. सुरेन्द्र झाले पनि प्रतिक्रिया दिएका छन्। उनका अनुसार, पार्टी अध्यक्ष ठाकुरले कहिलेकाहीं गाडी प्रयोग गर्ने गरे पनि केही समयअघि नै मन्त्रालयमा बुझाइसकिएको थियो।
तर मन्त्रालयका एक उपसचिवले भने गाडी चिठी लेखेको दुई दिनपछि मात्र फर्किएको र प्रयोगकर्ता ठाकुर नभई उनकी छोरी डा. मीनाक्षी ठाकुर रहेको दाबी गरेका छन्।
मन्त्रालयका सचिव कृष्णहरि पुष्करले गाडी हराएकोबारे प्रशासन प्रमुख निश्चलराज पाण्डेसँग सोधपुछ गरेपछि चिठी लेख्न निर्देशन दिएका थिए। स्रोतका अनुसार मन्त्री भण्डारी र सचिव पुष्करबीच हालको तनावका कारण सचिवले जानाजान गाडी खोजतलासको चिठी लेखाएको हुन सक्ने बताइएको छ।