News Portal

  • नेकपाद्वारा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह

    जनगर्जन संवाददाता
    ३३० पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भ्रम उत्पन्न गर्ने गरी अड्कलको भरमा टिका टिप्पणी र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। सो पार्टीको कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी १२ औँ पूर्ण बैठकका उठेका बिषय भन्दै बिभिन्न संचार माध्यम र सामाजिक संजालमा अड्कलको भरमा टिका टिप्पणी गर्ने र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य भै रहेकोले त्यस्तो कार्य नगर्न आग्रह गरेको हो।

    नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकमा आगामी पार्टी नवौँ महाधिवेशन, एमसीसीविरोधी आन्दोलन र आउँदो स्थानीय निर्वाचन गरी तीन विषयमा छलफल जारी छ ।पार्टी स्रोतले क्रान्तिको नयाँ मार्गका लागि बैठकमा गम्भीर बहस जारी रहेको जनाएको छ । छलफल र बहसमा राष्ट्रिय/अन्तर्राष्ट्रिय दुवै विषय छन् । जनतासँग जोडिएर जानुपर्ने आवश्यकता र औचित्यका विषयमा केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्यबीच छलफल बढी केन्द्रित रहेको जनाइएको छ । विभिन्न सञ्चारमाध्यममा पार्टीको बैठकमा कोको चुनावका पक्षमा र कोको चुनावका विपक्षमा छन् भनी आएका टिप्पणी सत्य नभएको बताइएको छ । अड्कलका भरमा, भ्रम उत्पन्न हुने, क्रान्तिकारी शक्तिमा फुट उत्पन्न गर्ने गरी, क्रान्तिकारीहरूबीच वैमनस्य बढ्ने गरी, जान वा अन्जान रूपमा, पार्टी क्रान्तिकारी पङ्क्तिमा फुट पैदा गर्ने षड्यन्त्रस्वरूप, कल्पनाका भरमा सञ्चारमाध्यममा सार्वजनिक गरिएका अनर्गल प्रचारको भरमा नपर्न र दिग्भ्रमित नहुन पनि पार्टी केन्द्रीय कार्यालयले आह्वान गरेको छ ।

    पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता क्रान्तिका पक्षमा एक ढिक्का भएर अघि बढ्ने विषयमा बहस र छलफल केन्द्रित रहेको जानकारी बैठकमा सहभागी केन्द्रीय सदस्य प्रज्वलनले दिए । चुनाव प्रयोग वा बहिष्कार गर्ने विषय कार्यनीतिक विषय भएकाले छलफल हुनु स्वाभाविक रहेको र जनताको रुचि र चासोका विषयमा पार्टीमा बहस हुनु कुनै अस्वाभाविक विषय नभएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।
    पार्टी महासचिव विप्लवले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको ‘एकीकृत जनक्रान्तिका कार्यनीतिहरू र स्थानीय निर्वाचन’ उपशीर्षकमा भनिएको छ, ‘हामीले कार्यनीति ठोस गर्दा जहिले पनि देश, श्रमिक जनता, मित्रशक्ति र पार्टीपङ्क्तिको अवस्थालाई केन्द्र भागमा राखेर गर्नुपर्छ । कस्तो कार्यनीतिले देशको हितमा, नागरिकहरूलाई ध्रुवीकृत गर्न मद्दत गर्छ, जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउँछ, जनतालाई एकताबद्ध र सक्रिय बनाउँछ, पार्टी पङ्क्तिलाई जनतामा पुग्न सहज तुल्याउँछ र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने पक्षहरूलाई ध्यान दिएर बनाउनुपर्छ ।’

    प्रतिकृया दिनुहोस्