News Portal

पुर्वराजा ज्ञानेन्द्रलाई भारतले उचाल्यो कि भन्ने हल्ला निराधार हो:- शेर बहादुर देउवा

जनगर्जन संवाददाता२०८१ चैत्र २५
१७ पटक

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारत नेपालप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। गणेशमान सिंह फाउण्डेशनद्वारा आयोजित ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीलाई सोमबार सम्बोधन गर्दै देउवाले भारत संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताए।

सभापति देउवाले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले समर्थन गरिरहेको भन्ने जस्ता हल्ला फैलिरहेको स्वीकार गरे पनि ती निराधार रहेको स्पष्ट पारे। ‘कहिलेकाहीँ यस्ता कुराहरू उठिराख्छन्, तर मलाई विश्वास छैन,’ उनले भने, ‘अहिले राजा स्थापना गर्छौं भन्ने, भारतमा के भइरहेको छ भन्ने, भारतले नै उचाल्यो कि भन्ने हल्ला पनि छ। तर, मलाई के थाहा छ भने भारत हाम्रो प्रजातन्त्र, गणतन्त्र र जनताको चाहनाको पक्षमा छ।’

देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर नेपालमा छापिएपछि आएको चर्चाको प्रसंग उल्लेख गर्दै, ‘आदित्यनाथजी आफैंले भारतस्थित नेपाली दूतावासमा गएर उक्त कुरा झुठा भएको र नेपालका जनताले जे चाहन्छन्, त्यही हुन्छ भनेको कुरा हामीलाई थाहा छ,’ भन्दै भारतप्रति विश्वास व्यक्त गरे।

त्यसैगरी, देउवाले भारत र नेपालको सम्बन्ध सधैं सुमधुर रहेको भन्दै भारतले नेपाललाई विभिन्न क्षेत्रमा ठूलो सहयोग गर्दै आएको बताए। दुई देशबीच देखिएका समस्याहरू संवाद र वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ थियो। देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै भ्रमणको निम्तो दिने विश्वाससमेत व्यक्त गरे।

प्रतिकृया दिनुहोस्