News Portal

टिचिङ शिक्षण अस्पतालमा १५ शैय्याको इमर्जेन्सी वार्ड र आधुनिक एमआरआई सेवा स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन

जनगर्जन संवाददाता२०८२ आषाढ २९
३० पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड तथा अत्याधुनिक थ्री टेस्ला एमआरआई सेवा उद्घाटन गरेका छन्। मन्त्रालयको आर्थिक सहयोगमा स्थापित यी सेवाले सर्वसाधारण नागरिकका लागि गुणस्तरीय र सुलभ उपचारको पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले उक्त सेवा सञ्चालनका लागि २० करोड रुपैयाँको आर्थिक सहयोग गरेको हो। उद्घाटन समारोहमा मन्त्री पौडेलले भने, “सरकारी अस्पतालहरूमा नागरिकको भरोसा बढिरहेको छ। टिचिङजस्ता संस्थाले जनताको अपेक्षाअनुसार सेवा विस्तार गरेकै कारण सरकारी स्वास्थ्य सेवातर्फ आकर्षण बढेको हो।”

उनले मन्त्रालयको तर्फबाट आगामी दिनमा थप सेवा विस्तार र आधुनिकीकरणका लागि आवश्यक सहयोग निरन्तर हुने प्रतिबद्धता जनाए। “टिचिङको सेवा अझै आधुनिक र प्रभावकारी बनाउन मेरो साथ रहनेछ,” मन्त्री पौडेलले बताए।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभाष आचार्यले मन्त्रालयको सहयोगमा प्राप्त थ्री टेस्ला क्षमताको आधुनिक एमआरआई मेसिन अस्पतालको सेवा स्तरीय बनाउन ठूलो योगदान हुने बताए। “अब बिरामीले महँगो शुल्क तिरेर निजी क्लिनिक वा अस्पताल जानु पर्ने छैन, अत्याधुनिक एमआरआई सेवा यहीँ उपलब्ध हुनेछ,” उनले भने।

हालसम्म इमर्जेन्सी वार्डमा बेडको अभावका कारण एकै शैय्यामा दुई जना बिरामी राख्नुपर्ने अवस्था रहेकोमा अब १५ शैय्याको ग्रीन एरिया निर्माण भएपछि यस्तो समस्या न्युनिकरण हुने विश्वास गरिएको छ। यसअघि आठ बेड मात्र रहेका ग्रीन एरियामा अब दोब्बर क्षमतामा सेवा दिन थालिएको हो। साथै, कम गम्भीर बिरामीहरूको उपचारका लागि छुट्टै एल्लो एरियामा २० शैय्याको व्यवस्था मिलाइएको छ।

अस्पताल प्रशासनले सेवा विस्तारसँगै आकस्मिक उपचारको गुणस्तर र सहजता दुबैमा सुधार आउने अपेक्षा राखेको छ।

प्रतिकृया दिनुहोस्