News Portal

ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न, आज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

जनगर्जन संवाददाता२०८२ आषाढ ६
१६ पटक

काठमाडौं । ललितपुरस्थित ग्वार्को क्षेत्रमा निर्माण गरिएको फ्लाइओभर अन्ततः सम्पन्न भएको छ। अब सवारी साधनहरूलाई सहज आवागमन सुनिश्चित गर्न उक्त ओभरपास आज औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे एक विशेष समारोहबीच फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

फ्लाइओभरको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागका उच्च अधिकारीहरूसँग मिलेर स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले रंगरोगन लगायतका बाँकी कार्य यथाशीघ्र पूरा गरेर सवारी सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए।

हाल फ्लाइओभरको सजावट तथा अन्तिम स्पर्शका कामहरू तीव्र गतिमा भइरहेको छ। उद्घाटन पछि उक्त मार्गमा गाडी चल्न पाउने छन्, जसले ग्वार्को क्षेत्रमा हुने सवारी जाम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

फ्लाइओभरको निर्माणले ललितपुर, बानेश्वर, कोटेश्वर तथा सातदोबाटो क्षेत्रका यात्रुहरूलाई सहज आवागमनमा राहत दिने विश्वास गरिएको छ। लामो समयदेखि यातायात दबाबमा रहेको ग्वार्को चोक अब नयाँ संरचनाले सहज बनाउन सकिने देखिएको छ।

स्थानीय बासिन्दाहरू तथा यातायात व्यवसायीहरूले पनि फ्लाइओभर सञ्चालनमा आउँदा दैनिक आवागमन सहज हुने प्रतिक्रिया दिएका छन्।

यस परियोजना सडक विभाग अन्तर्गतको आयोजना हो र यसको निर्माण कार्य सरकारी तथा निजी साझेदारीमा सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्