
कपिलवस्तु । नेपाल नेत्रज्योति संघ छन्द कालेबाबु नारायणी आँखा अस्पतालको वार्ड भवन र कर्मचारी आवास भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
दातृ निकाय एन.ए.बी.पी.नर्वे,लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय र आर्थिक मन्त्रालय तथा अस्पतालको आन्तरिक श्रोत समेत गरि कुल ७ करोड १६ लाख ३९ हजार ३ सय ७६ रुपैयाँ ६१ पैसा लागत स्टिमेट रहेको वार्ड भवनको कुल खर्च ४ करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ २१ पैसामा वार्ड भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
लागत स्टिमेट भन्दा २ करोड ७६ लाख ५९ हजार १ सय रुपैयाँ २१ पैसा कम लागतमा निर्माण भएको उक्त भवन स्व.छन्द बहादुर शाह र नारायणी शाहको नाममा जग्गादान भएको हो । १७ कठ्ठा जग्गामा १०० बेडको चार तले वार्ड भवनको निर्माण भएको हो । वार्ड भवनको उद्घाटन नेपाल नेत्रज्योति संघ का केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तले गरेक हुन ।
त्यसैगरी अस्पताल परिसरभित्र २ तलाको १४ कोठा रहेको कर्मचारी आवास भवनको निर्माण समेत सम्पन्न भएको छ । संविधान सभा सदस्य माननीय अभिषेक प्रताप शाहको क्षेत्र बिकास कोष बाट प्राप्त ५० लाख, कृष्णनगर नगरपालिकाको १५ लाख, बिजयनगर गाउँपालिकाको ५ लाख, बुद्धभुमि नगरपालिकाको रु ५ लाख, एन.ए.बी.पी नर्वे को ८ लाख ८१ हजार ८ सय ८६ रुपैयाँ ९७ पैसा र अस्पतालको आन्तरिक श्रोत समेत गरि १ करोड ३० लाख ७८ हजार १ सय ६४ रुपैयाँ १७ पैसा लागत स्टिमेट रहेको कर्मचारी आवास भवनको कुल खर्च १ करोड २८ लाख २९ हजार ३ सय ४६ रहेको प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले जनगर्जन मिडियालाई जानकारी गराएका छन् ।
कर्मचारी आवास भवन पनि लागत स्टिमेट भन्दा साढे दुई लाख सस्तोमा निर्माण सम्पन्न भएको छ । हाल कर्मचारी आवास भवनमा नेत्र विशेषज्ञ सहित १३ जना कर्मचारी बस्दै आउनु भएको छ । कर्मचारी आवास भवनको उद्घाटन संविधान सभा सदस्य माननीय अभिषेक प्रताप शाहले गर्नु भएको थियो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, जानकी प्रसाद यादव, कृष्णनगर न.पा.का प्रमुख रजत प्रताप शाह, जिल्ला समन्वय समितीका प्रमुख नित्यानन्द शर्मा, नेपाली काङ्ग्रेस कपिलवस्तुका उप सभापति हुमकान्त खनाल, राप्रपाका डाक्टर अखिलेश्वोर पाण्डे, नेपाल समाजबादी पार्टी का रहिस शाह, जनमत पार्टीका बाल्जी प्रसाद यादब र जनता समाजबादी पार्टीका अजित सिंहले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खडकाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको संक्षिप्त प्रगति प्रतिवेदन र प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले भवन निर्माणको आम्दानी तथा खर्च प्रतिबेदन प्रस्तुत गरेका छन् । सो कार्यक्रममा जग्गा दाताका सुपुत्र सुधिर बहादुर शाह र नगर प्रमुख रजत प्रताप शाह लाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नेत्रज्योति संघका सचिव घनश्याम सुवेदीले गरेका थिए ।