News Portal

  • सेति व्युरो पार्टी आफ्नै उत्पादनले आत्मनिर्भर बनेको छ : डबल सी

    शोभराज बराल२०८१ बैशाख ६
    २९ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेति व्युरो इन्चार्ज डबल सीले आफ्नो पार्टी आफ्नै उत्पादनले आत्मनिर्भर बनेको बताएका छन् । नेकपा केन्दीय कार्यालय कपिलवस्तुमा पत्रकारसँग कुरा गर्दै डबलले आफ्नै उत्पादनले सेति व्युरो पार्टी आत्मनिर्भर बनेको बताएका हुन् ।

    ‘हामीले सेति व्युरोको तर्फबाट कैलालीमा चार विघा जमिन लिएर उत्पादनको काम गरिरहेका छौं । पहिलो बर्ष हाम्रो अनुभवको बर्ष रह्यो ।’, उनले भने, ‘राम्रो उत्पादन नभएपनि हाम्रो पार्टी आत्मनिर्भर बनेको छ । हामीले ८० क्विन्टर चामल, केही क्विन्टल दाल, आलु उत्पादन गरेका छौं । यो बर्ष हामी यसलाई बढाउँछौं ।’

    नेकपाले उत्पादनको नीति लिएपछि उत्पादनको काममा जोड दिएको सेति व्युरोले आलु बेचेर राम्रो आम्दानी पनि गरेको छ । ‘हाम्रो पार्टी आंशिक रुपमा आत्मनिर्भर भएको छ । हामी चामल, दाल, तरकारी, तेलमा आत्मनिर्भर छौं । हामीलाई आलुसँग मिसाउन केही तरकारी र नुनमात्र किने पुग्छ ।’, उनले भने, ‘हाम्रो आलुको चर्चा अहिले पनि भइरहेको छ । यसबाट पार्टीले राम्रो आम्दानी गरिरहेको छ ।’

    पार्टीले उत्पादनको नीति लिएपछि जनतामा आशाको संचार भएको बताउँदै डबलले भने, ‘पहिला–पहिला कम्युनिस्टहरुलाई ठगेर खाने, लुटेर खाने, बम पट्काउने हुन् भनेर बुझ्ने जनता अहिले यो पार्टीले केही गर्छ भनिरहेका छन् । सुरुमा यो पार्टी खेती गर्न आयो, यसले जनताको आँखामा भ्रम छर्न खोज्यो भन्नेहरु अहिले पार्टीको उत्पादन देखेर आशा गरिरहेका छन् । यो पार्टीले केही गर्छ भनिरहेका छन् । हाम्रो कामले जनतामा नयाँ आशा पलाएको छ ।’

    पार्टीले उत्पादन गरेको समानले बजारमा राम्रो मुल्य नपाएकोमा दुःख व्यक्त गर्दै पार्टीले यसको पनि विकल्प दिएको बताए । ‘हामीले उत्पादन गरेको मात्रै के भन्नुहुन्छ, किसानले उत्पादन गरेको समानले बजार पाउँदैन, विचौलियाहरुको विगविगी छ ।’, उनले भने, ‘हामीले आफै बजार बनाउने योजना बनाएका छौं । विचौलियासँग प्रतिस्पर्धा गर्नका लागि पार्टीले सहकारीमार्फत काम गर्न खोजिरहेको छ । अब सहकारीले बजार बनाउँछ । हामी प्रतिस्पर्धा गछौं ।’

    उत्पादनलाई बढाउन सरकारले मल, विउ र सिंचाईको व्यवस्था गर्नुपर्ने उनको भनाई । साथै उनले नेपालका युवाको विदेश पलायन रोक्नका लागि सरकारले युवा परिचालनसम्बन्धी नीति ल्याएर देशभर उत्पादनमा जोड्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्