News Portal

  • सरोकारवालाहरु जुटे चैत दशैको मेला तयारीमा

    मन्दिर वरिपरि प्लास्टिक जन्य पदार्थको प्रयोगमा रोक गर्ने

    जनगर्जन २०८० चैत्र ९
    २८ पटक

    चैत ९ बागलुङ । चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचालन हुने चैत्राष्टमी मेलाका लागि तयारी शुरु गरिएको छ । मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवालाको बैठकले विभिन्न तयारी गरेको हो ।
    मेलाअबधिभर ट्राफिक व्यवस्थापन, सुरक्षा तथा पूजा व्यवस्थापनमा कालीका भगवती गुठीको आग्रहमा बागलुङ नगरपालिका, प्रशासन, प्रहरी, ट्राफिक कार्यालय, धौलागिरि अस्पताल, रामरेखा सामुदायिक वनले सामुहिक साथ दिने भएका हुन् ।
    चैतेदशैभर हुने सवारी जाम कम गर्न र ट्राफिक समस्या समाधान गर्न बाङगेचउरस्थित खेल मैदानलाई सवारी सशुल्क पार्किङ स्थल बनाइने भएको छ । बागलुङ नगरपालिकाको व्यवस्थापनमा सवारी पार्किङ व्यवस्थापन हुने भएको हो ।
    त्यस्तै नेपाल प्रहरी र सशष्त्र प्रहरीले सुरक्षालाई चुस्त बनाउने गरी तयारी भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । त्यस्तै ट्राफिक प्रहरीको अस्थायी पोष्ट कालीका मन्दिर गेटमा राखेर सेवा प्रवाह गर्ने निर्णय भएको हो ।
    हजारौं भक्तजन र पर्यटक आउने भएकोले प्राथमिक उपचार सेवा, शुद्ध खानेपानी लगायतको व्यवस्थापनका लागि पनि तयारी भएको छ । नेपाली सेना, रेडक्रस, नगर स्वास्थ्य शाखा र धौलागिरि अस्पताल तथा स्वास्थ्य कार्यालय बागलुङको संयुक्त स्वास्थ्य उपचार सेवा संचालन गर्ने सरोकारवालाको बैठकले निर्णय गरेको हो ।
    बागलुङ नरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ती निर्णय गर्नुको साथै व्यवसायलाई पनि प्रभावकारी र मर्यादित बनाउने निर्णय भएको नगरपालिकाका बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताए ।
    ‘सडकमा राखेर व्यापार गर्न दिइने छैन’ घिमिरेले भने, ‘कुन सामाग्री कुन स्थानमा बेच्ने भनेर समयमै जानकारी गराइन्छ, सोही अनुसार नभए कारवाही पनि हुनेछ ।’ सचेतना स्वरुप जानकारी दिएको कुरा अटेर गरेमा नगर प्रहरीले ती सामान उठाउने र जफत गर्न सक्ने घिमिरेले बताए ।
    हस्तकला तथा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका बस्तुको बिक्रीका लागि पैसा नलाग्ने स्टल तथा खुला स्थान दिइने मेला आयोजक समितिका संयोजक तथा कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । ती सामान तोकिएको स्थानमा राखेर बेच्न लगाइने छ । अन्य सामानहरु स्टलमा राख्नुपर्ने व्यवस्था गरिने छ । मुल समारोह बाल उद्यानमा हुने र हाल सवारी पार्किङ गरेको स्थानमा स्थानीय उत्पादनको व्यवसाय गर्नदिने तयारी भएको हो ।
    चैतेदशैको अबसरमा आयोजकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आतिथ्यताको लागि निमन्त्रणा गरेको खड्काले बताए । प्रधानमन्त्री आउने अबस्था भएमा सुरक्षाको लागि थप व्यवस्थापन गर्न प्रशासनले काम गर्ने छ । त्यस बाहेक यो पटकदेखि कालीका मन्दिर परिसरमा प्लाष्टिकका सामान प्रयोग गर्न नदिने तयारी छ । बरु मन्दिरभित्र टुनाटपरीमा प्रसाद बितरणको व्यवस्थापन गर्ने, पूजालाई व्यवस्थित गर्ने र शुद्ध खानेपनीको व्यवस्थापन समेत गर्ने तयारी भएको हो ।
    खड्काको अध्यक्षतामा मुल समारोह गठन पछि अन्य उपसमिति पनि बनाइएको छ । गुठीका सचिव अर्जुन खड्कालाई भलिबल खेल संयोजक, उपाध्यक्ष निसान खड्कालाई नृत्य प्रतियोगिता संयोजक र कोषाध्यक्ष रामबहादुर खड्कालाई आर्थिक स्टल, बिद्या खड्का र गीता खड्कालाई अतिथि सत्कार, धु्रब खड्कालाई स्टल र स्वयंसेवक, राजेन्द्र शाक्यलाई रथ यात्रा संयोजक, राजीन खड्कालाई रमाइलो मेला संयोजक, डम्बर खड्का र डम्बर थापालाई मन्दिर पुजा व्यवस्थापन, तथा बिबाद समाधानका लागि कानूनी सल्लाहकार राम शर्मालाई जिम्मा दिइएको छ ।
    मेलामा खुला लोक दोहोरी प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २ लाख र द्वितिय हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । कालीका कप खुला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३ लाख र द्वितिय हुनेले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । अन्तरमाबि स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद पुरस्कार पाउनेछन् । छेलो प्रतियोगिता लगायतका विभिन्न खेलहरु समावेश गरिएको समितिका अध्यक्ष कुमार खड्काले बताए ।

    प्रतिकृया दिनुहोस्