News Portal

  • फिफा मापदण्ड अनुसार छैन पोखरा फुटबल स्टेडियम

    जनगर्जन संवाददाता२०८० फाल्गुण १९
    ७० पटक

    विजय नेपाली
    पोखरा । २०७२ सालमा वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भयो भने करिब २२ हजार व्यक्तिहरू घाइते भए । ती प्रभावित जिल्लामा बसोबास गर्ने व्यक्तिहरूले नराम्रोसँग मानवीय तथा भौतिक क्षति व्योहोर्नुप¥यो । सोही भूकम्पले पोखरा रंगशालास्थित फुटबल मैदानको प्यारापिटलाई जीर्ण बनायो ।
    त्यसको तीन वर्षपछि फुटबल मैदानको पुनःनिर्माणसँगै मुहार फेरियो । पोखराले अब नयाँ फुटबल संरचना पायो । २०७४ सालमा जीर्ण प्यारापिट भत्काउन सुरु भयो र २०७५ फागुन २६ गते तत्कालिन युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माल उक्त फुटबल स्टेडियमको शिलन्यास गरे ।

    एक अर्ब २८ करोड २२ लाखको लागतमा निर्माण गरिएको संरचना २०७९ सालमा मात्रै हस्तान्तरण गरियो । राष्ट्रिय खेलकुद परिषदले पोखरा फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस् एण्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) लाई निर्माणको जिम्मा दिएको थियो ।

    २०७६ सालमा भएको १३ औं साग गेममा महिला फुटबल सोही स्टेडियममा खेलाइयो । नेपाल उपविजेता बन्यो । त्यतिबेलासम्म त्यो स्टेडियम पूर्ण रुपमा बनिसकेको थिएन् । त्यसपछि पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न ग¥यो । नेपालकै उत्कृष्ट फुटबल स्टेडियम बनेको पोखराले अर्बौंको संरचनामा अन्तर्राष्ट्रिय प्रतियोगिता भने गराउन पाएको छैन । अर्थात्, पोखरामा एक अर्ब २८ करोड लागतको फुटबल स्टेडियम फिफाको नियम अनुसार अयोग्य ठहरियो ।

    यसको ज्वलन्त उदाहरण हो, नेपाल र बहराइनको खेल नेपालमा नहुनु । सामान्यतयाः दशरथ रंगशालाको विकल्पको रुपमा आम पोखरेलीले पोखरा फुटबल स्टेडियमलाई लिने गरेका छन् । यो कुरा केन्द्रमा समेत भन्ने गरिन्छ ।

    आगामी चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल हुने फिफाको तालिका थियो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई शुक्रबार पत्र पठाउँदै नेपाल र बहराइनबीचको पहिलो लेगका लागि न्युट्रल भेन्यू व्यवस्थापन गर्न भनेको थियो । एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले सोमबार दशरथ रंगशालाको निरीक्षण गरेपछि नेपाल र बहराइन बीचको खेलबारे अन्यौलता थपिएको थियो । दोर्जे रंगशालाको अवस्थाबाट सन्तुष्ट भएनन् । निरीक्षणपछि उनले एएफसीलाई प्रतिवेदन बुझाउँदै दशरथ रंगशालालाई अयोग्य घोषणा गरे । विकल्पमा पोखराको कुुरै उठेन ।

    किन त ? एन्फा प्रवक्ता सुरेश शाहले पोखरा रंगशाला फिफाको विश्वकपस्तरका खेलका लागि योग्य नभएको उत्तर दिए । ‘हामीसँग सुविधा सम्पन्न भएको स्टेडियम अहिले दशरथ रंगशालामात्रै हो । अब त्यो डे नाइट म्याच हुने ठाउँ हो । तर, पोखरामा डे नाइट हुँदैन । त्यहाँ फ्लड लाइट छैन् । सबै कुराहरु अन्र्राष्ट्रिय स्ट्यान्डर्डको रुपमा अहिले पोखराको स्टेडियमलाई फाइनल गरिसकेको छैन् । त्यो हिसाबले अहिले हामीसँग अन्तर्राष्ट्रिय टुर्नामेन्ट गराउने यो दशरथ रंगशालामात्रै हो,’ उनले भने, ‘त्यो पनि अहिले मैदानको अवस्था राम्रो नदेखिएको हिसाबले एएफसीबाट आउनुभएको प्रतिनिधिहरुले हेर्ने क्रममा केही त्रुटिहरु भेटिएका कारणले त्यसलाई पनि अस्वीकार गरियो । न्युट्रल भेन्युमा लाने भन्ने हिसाबले म्याचलाई अहिले नहुने भनिएको हो ।’ उनका अनुसार पहिला नै कुनकुन मैदान सम्भावित भनेर जानकारी दिने क्रममा पोखराको नाम नै समावेश थिएन ।

    फिफाको स्ट्यान्र्डडमा पर्न सामान्यतया फ्लड लाइट र स्कोर बोर्डको आवश्यकता पर्दछ । जुन पोखरा फुटबल स्टेडियममा छैन । लामो समयदेखि फ्लड लाइट र स्कोरबोर्डको चर्चा चले पनि पोखराले त्यो नपाउँदा अन्तर्राष्ट्रिय मान्यताको फुटबल स्टेडियमबाट योग्य हुन बञ्चित भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्