News Portal

  • युएई लाई ९ रनले पराजित गर्दै विश्वकपमा नेपाल छनौट

    जनगर्जन संवाददाता
    ८५ पटक

    २ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

    बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

    जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

    आसिफ खानको कीर्तिमानी शतक

    यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउट भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे ।

    बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका वसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो । अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । ४४औंभरको अन्त्यमा पनि उसको स्कोर २०८/५ थियो ।

    तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । अरविन्द भने ९४ रन बनाएर इनिङकै अन्तिम बलमा आउट भए ।

    नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

    निर्णायक ४२ औं ओभर

    जवाफमा नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै आरिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुशल मल्ल ५ र कप्तान रोहित पौडेल पनि व्यक्तिगत १६ रनमै आउट भए । ३/३७ को अवस्थामा रहेको नेपालको पारी चार ब्याट्सम्यानले लगातार अर्धशतक बनाएर सम्हाले ।

    सुरुमा कुशल भुर्तेल र भीम सार्कीको जोडी जम्यो । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका कुशल थप तीन बलको सामना गर्दै ५० रनमै आउट भए ।

    त्यसपछि भीम र आरिफ शेखले क्रिजमा जमेर खेले । दुबैले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । तर, ३१औं ओभरको अन्तिम बलमा भीम एलबीडब्लू धरापमा परे । ७६ बलको सामना गरेका उनी ९ चौकाको मद्दतमा ६७ रन बनाएर आउट भए । त्यसपछि आरिफले अर्धशतक पूरा गरे ।

    गुल्सन झाले क्रिजमा टिकेर साथ दिँदा खुलेर खेल्ने प्रयास गरेका आरिफले ३९औं ओभरको तेस्रो बलमा चौका हान्दै अर्धशतक पूरा गरे । उनी पनि थप ३ बलको सामना गरेर व्यक्तिगत ५२ रनमा आउट भए । त्यसपछि क्रिजमा गुल्सन झालाई साथ दिन दीपेन्द्र सिंह ऐरी आएका थिए ।

    टिकेर खेल्दा नजिता नेपालको पक्षमा आउन सक्थ्यो, तर खराब प्रकाशका कारण अम्पाएरले जुनसुकै बेला खेल रोक्न सक्ने अवस्था थियो । त्यो बेला डिएल मेथडबाट निर्णय गर्दा नतिजा नेपालको पक्षमा हुने थिएन । किनकि ४१औं ओभर सकिँदा नेपालको स्कोर २३५/६ थियो, जबकी डिएलअनुसार जितका लागि २४४ रन चाहिथ्यो ।

    तर ४२औं ओभरमा खेल नेपालको पक्षमा आयो । महम्मद वसिमको बलमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरेपछि डीएलमा जाँदा वा नजाँदाको दुबै परिस्थितिमा खेल नेपालको अनुकल ढल्कियो । यो ओभरमा मात्र नेपालले आफ्नो खातामा २० रन थपेको थियो ।

    थप २ ओभरपछि अम्पायरले खेल रोके, जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९/६ थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

    जिम्बाब्बेमा हुने वर्ल्ककप क्वालिफायरमा आईसीसी सुपर लिगका पुछारका ५ टिम, लिग टु को शीर्ष तीन टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    लिग टुबाट स्कटल्याण्ड, ओमान र नेपालले स्थान पक्का गरिसके । सुपर लिगबाट जिम्बाब्बे र नेदरल्याण्ड्सले खेल्ने पक्का भइसकेको छ भने तीन टिमको टुङ्गो लाग्न बाँकी छ ।

    अब लिग टु को पूछारका चार टिम नामिबिया, अमेरिका, युएई र पीएनजीसहित च्यालेन्ज लिगको शीर्ष दुई टिम क्यानडा र जर्सी गरी ६ टिमको प्लेअफ क्वालिफायर नामिबियामा यसै मार्चको अन्तिममा सुरु हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बाब्बेमा हुने वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउनेछन् ।

    प्रतिकृया दिनुहोस्